झापा, जेठ २६ । आबश्यकताभन्दा थोरै आएपछि झापामा कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाउनेको हानाथाप भएको छ ।

जिल्ला प्रशासन कार्यालयले ६२ देखि ६४ वर्ष उमेर समूहका जिल्लाका ज्येष्ठ नागरिकहरुका लागि २६ हजार भाइल माग गरेको थियो । तर , स्वास्थ्य मन्त्रालयबाट १३ हजार भाइल मात्र उपलब्ध गराइएको छ । आजदेखि दुई दिनसम्म झापामा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाईदैछ । पहिलो दिन खोप लगाउनेहरुको निकै भीड लागेको छ । बिर्तामोडको खोप केन्द्रमा लागेको भीडले कोरोना संक्रमण नियन्त्रणभन्दा अझ संक्रमण फैलिने आशंका गरिएको छ ।‘हामीले २६ हजार भाइल माग गरेका थियौं’ प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले भने ,‘मागेको आधा मात्र उपलब्ध भयो ।’उनले भीडभाडलाई नियन्त्रण गर्न आफूले प्रहरीलाई भनिसकेको जानकारी दिए ।

झापामा यस पटक चिनिया खोप भेरोसेल १३ हजार भाईल उपलब्ध भएकोले सोही सँख्यामा ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरूलाई लगाइने लक्ष्य लिइएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झापामा ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरूको सँख्या करिब २० हजार रहेको अनुमान गरिएको छ । तर , खोपको मात्रा १३ हजार मात्र रहेको छ । जिल्लाका सबै पालिकाहरुलाई मिलाएर खोप उपलब्ध गराइएको स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईले बताए । जिल्लाको कूल जनसँख्याको १.७५ प्रतिशत त्यस उमेर समूहको भएको जनाइएको छ । बिर्तामोड नगरपालिकामा १२३६ भाइल खोप आएको छ । खोप लगाउनेको सँख्या धेरै भएपछि समस्या भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तुलसी पोखरेलले बताए ।सरकारले मंगलबारदेखि मुलुकभर कोरोनाविरुद्धको खोप अभियान चलाएको हो  । चीनबाट अनुदानमा प्राप्त १० लाख भेरोसेल खोप काठमाडौँ उपत्यकामा ६० देखि ६४ र बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहकालाई लगाउन लागिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्