भद्रपुर, जेठ २६ ।नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मानव सेवामा रहने स्वयम्सेवकहरूबाट राजनीतिक रंग नदेखाउन आग्रह गरेका छन् ।

मेची अभियानका परिकल्पनाकारसमेत रहेका शर्माले अभियानमा संलग्न भद्रपुर ९ र १० मा संकृय स्वयमसेवकहरूसँग अन्तत्र्रिmया गर्दै एउटा मान्छेले अर्को मान्छेको जीवन बचाउन लाग्दा राजनीतिको रंग नदेखाउन आग्रह गरेका हुन् ।
२०७२ सालको महाभूकम्पपछि पीडितलाई सहयोग गर्न झापाको मेचीनगरबाट सुरू भएको मेची अभियान आपतविपतमा परेका मानिसलाई सहयोग गर्न स्वयम्सेवक माध्यम अपनाएर मानव सेवामा निरन्तर लागिरहेको बताउँदै शर्माले पछिल्लो पटक कोभिड, ननकोभिडका बिरामीलाई टेलिमेडिसिन उपचार सेवा प्रवाह गरिरहेको बताए । उनले आर्थिक अभावका कारण अस्पताल पुग्न नसकेका बिरामीलाई अस्पताल पुर्याएर बचाउनु पहिलो प्राथमिकता भएको जनाउँदै कोरोनाका कारण दीर्घ रोगीले अस्पतालमा पुग्न नसकी उपचार सेवा नपाएर घरमै रहेकाहरूसित टेलिमेडिसिनमार्फत उपचारमा जोड्न स्वयम्सेवकहरूलाई आग्रह समेत गरे ।
अभियानका संयोजक विजय डालमियाका अनुसार झापाको मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिका, भद्रपुर नगरपालिका, गौरीगञ्ज गाउँपालिका, झापा गाउँपालिका र साविक खुदुनाबारी गाविसमा अभियान जारी छ । बिरामीहरूको आवश्यकताअनुसार यो सेवा बिस्तार हुँदै जाने संयोजक डालमियाले जानकारी दिए ।
कोरोना संक्रमितसँगै मुटु, मिर्गौला, सुगर, प्रेसरका बिरामी, गर्भवती, सुत्केरी महिला तथा डायलोसिस सेवा लिनुपर्ने बिरामीलाई प्राथमिकतामा राखेर यो सेवा सुरु गरिएको संयोजक डालमियाले बताए । अभियानले कोरोनाको दोस्रो लहरको संक्रमणसँगै जनचेतना अभिवृद्धि गर्ने र संक्रमितहरूलाई नियमित परामर्श उपलब्ध गराउँदै आएको छ ।
विशेषज्ञ चिकित्सकसहितको टोलीले होम आइसोलेसनमा रहेका संक्रमितहरूसँग भर्चुअल प्रविधिबाट प्रत्यक्ष कुराकानी गर्ने र परामर्श दिने गरिरहेको छ । त्यसको नेतृत्व डा. सञ्जीव शर्मासहितको टोलीले गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्