झापा , जेठ २८ । चिकित्सा शिक्षा ऐनलाई कुल्चिँदै झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रयासप्रति विवेकशील साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

चिकित्सा शिक्षा आयोगमाथि ठाडो हस्तक्षेप गरी प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगका पदाधिकारीहरूलाई अवैध काम गर्न निरन्तर दबाब दिएको र त्यसका कारण आयोग नै धराशायी हुने अवस्थामा पुगेको भन्ने समाचारहरूले स्तब्ध बनाएको पार्टीका प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गरी जनाएका छन् । विज्ञप्तिमा भनिएको छ‘प्रधानमन्त्रीको यो सम्भावित कदम निकै गम्भीर छ । व्यक्ति विशेषका लागि मुलुकको कानुन कुल्चँदै र नियामक निकायहरूलाई धराशायी बनाउँदै जाने शृङ्खलाले कसैगरी थप निरन्तरता पाउनु हुँदैन। अन्यथा देश दण्डहीनता र अराजकताको थप सिकार बनी संस्थाहरू असफल हुनेछन्। जसको कारण अन्ततः देशनै असफल हुने दिशामा जाने छ ।’ बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने विषयमा छलफल गर्न चिकित्सा शिक्षा आयोगको बैठक आज बस्दैछ । चिकित्सा शिक्षा आयोगको बैठकमा उठ्ने सबै विषयमा विधि र प्रक्रियासम्मत तरिकाले मात्रै निर्णय गरियोस् भनी विवेकशील साझा पार्टीले प्रधानमन्त्री लगायत सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराएको छ । साथै, पार्टीले कुनै निहित स्वार्थका लागि आयोगका आलङ्कारिक अध्यक्षले विज्ञ पदाधिकारीहरूलाई पेलेर कुनै अवैध निर्णय नगराउन खबरदारी समेत गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्