सुरेश आले ‘सर्जु’,
बिराटपोखर , जेठ २८ । बिर्तामोड नगरपालिकाले संचालन गरेको अटो एम्बुलेन्स सेवाका चालक उद्र राजबंशीलाई धेरैले नचिन्लान् तर, यिनै अटोचालक यतिखेर अटो एम्बुलेन्स सेवाबाट चर्चाको शिखरमा छन् ।

गत बैशाख २४ गतेदेखि उनी यो कार्यमा खटिएर आफ्नो अटोमा कोरोना संक्रमित बोकिरहेका छन् । बिर्तामोड नगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय र अटोसँगसम्बद्ध बिभिन्न संघसंस्थाको समन्वयमा उनले यो कार्य गरेका हुन् । बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म उनले कारोनाका विरामी बोक्ने गरेका छन् । कोरोनाका बिरामी बोक्न उनी र उनको अटो बिहान ७ बजे ट्राफिक प्रहरी कार्यालय बिर्तामोड पुग्नुपर्छ । ट्राफिक प्रहरी कहाँ फोन आएपछि त्यहाँमार्फत खटाईएको ठाउँबाट कोरोनाका बिरामी बोक्नु उनको दिनचर्या बनेको छ । हालसम्म उनले झापा जिल्लाका गोलधाप, बिर्तामोड, बसपार्क, झोडागाउँलगायतका ठाउँबाट कोरोनाका बिरामी आफ्नो अटोबाट ओसारेका छन् । अहिलेसम्म आफूले बोकेको बिरामीको अप्रिय घटना उनले सुनेका छैनन् । शुरुका दिनमा चारजना अटो चालकलाई यो कामको जिम्मेवारी दिइएको थियो । दुईजनाले यो काम छोडेर हाल २ जना बिर्तामोड ७ का भिमप्रसाद चिमरिया र उनी मात्र छन् ।
महिला र पुरुष गरी २ सय जना जति कोरोनाका बिरामी हालसम्म बोकिसकेका छन् । पूर्वेली मजदूर यातायात प्रा. लि. का अध्यक्ष हरिप्रसाद बाँस्कोटाले विपत्तिमा सेवा दिने दुवैजना अटोचालकको खुलेर तारिफ गरेका छन् ।
शुरुमा दिनको ७–८ जनासम्म कोरोनाका बिरामी बोकेका उनले खाना खाने समयसम्म पाएनन् । दिनको २ बजे खाना खाने गर्थे । हाल बिरामीको चाप कम भएकोले केही फुर्सद पाएका छन् ।
घर परिवार र गाउँलेले यस्तो जोखिम काम गर्नु पर्दैन भन्दाभन्दै आफूले आफैलाई सुरक्षित गरी अटोचालक भएर पनि महामारीमा मानवीय सेवा गर्न पाएकोमा भने उनी खुशी छन् । तर नगरले पिपिई सेट, स्यानिटाईजर कम परिमाणमा दिने गरेको र ग्लोब्स्, फेशसिल्ड नदिएको उनले गुनासो गरे । आफ्नै पैसा खर्चिएर उनले ग्लोब्स् किन्ने गरेका छन् । साथै बिरामीलाई चेकजाँच गर्न लाने मात्र होइन, चेकजाँचपछि घर पुर्याउने पनि गरेका छन् ।
नगरपालिकाले यो कार्य गरेबापत दैनिक रु.१५०० दिने निर्णय गरेको छ । टाढा जाँदा भने तेल खर्च दिने सहमति भएको सुनाए । उनी नेपाल अटो ई–रिक्सा तथा ठेला सम्बद्ध श्रमिक संघका नगर अध्यक्ष समेत हुन् । उनी २ छोरी र एक श्रीमतीका साथमा बिर्तामोड नगरपालिका वडा नं.९ कोलाटोलीमा बस्छन् ।
जे होस्, आफ्नो पारिश्रमिक लिएर भएपनि जो कोहीले यस्तो जोखिम काम गर्न नचाहेको बेला उद्र संगसंगै अर्का अटोचालक भिमप्रसाद चिमरियाले कोभिड बिरामीका लागि गरेको यस कार्य कोभिड महामारीमा प्रशंसनीय बनेको छ । ‘नगरपालिकाले भनेको दिनसम्म यसरी नै कोरोना बिरामीको सेवा गरिरहनेछु ’ उद्र भन्छन् ।