बिर्तामोड , जेठ २८ । निर्माण व्यवसायी तथा सामाजिक व्यक्तित्व शेरबहादुर थापा यतिखेर कोभिड–१९ का कारण समस्यामा परेका मानिसको घरदैलोमा पोषिलो खानेकुरा, फलफूल र औषधि लिएर पुगिरहेका छन् ।

जारी निषेधाज्ञाका कारण धेरै निर्माण व्यवसायीहरु घरमै बसिरहेको बेला कन्काई निवासी ५७ वर्षीय थापा भने विहानै उठेर कोभिड–१९ का कारण सदस्यले ज्यान गुमाएपछि पीडामा रहेका परिवारसँग समवेदना साट्न, संक्रमित अवस्थामा रहेका व्यक्ति र तिनका परिवारलाई साहस र आत्मबल प्रदान गर्न पुगिरहेका छन् । उनले यो सेवाकार्यलाई दिनचर्या नै बनाएका छन् ।
कोरोना संक्रमण हुँदा आउने स्वास्थ्य समस्या र कोभिड–१९ संंक्रमित र तिनको परिवारप्रति समाजले हेर्ने दृष्टिकोणबारे भुक्तभोगी थापा आफू निको भई सामान्य अवस्थामा फर्किएसँगै केही सहयोगीका साथमा कोभिड–१९ सँग सम्बन्धित सेवा अभियानमा जुटेका हुन् । यतिखेर थापाले कनकाई नगरपालिका क्षेत्रमा आफ्नो सहयोग अभियानलाई जारी राखेका छन् ।
कोभिड १९ संक्रमण भई ज्यान गुमाएका, संक्रमण भएर निको भएका अनि संक्रमित अवस्थामा रहेका कनकाई नगरपालिका क्षेत्रका परिवारको विवरण संकलन गरेर सोही अनुसार स्याउ, अनार, कागती, औषधिजन्य वनस्पति, काजु–किसमिसजस्ता पोषिलो खानेकुराको प्याकेज र आवश्यक औषधि अनि स्वास्थ्य सामग्री बोकेर पीडितहरुको घर–घरमा पुगिरहेको थापाले बताए । शुक्रबारसम्म कनकाईका लगभग दुई सय पीडित परिवारमा स्वास्थ्य सामग्रीको प्याकेज लिएर थापा पुगिसकेका छन् । यो अभियान निरन्तर रहने थापाको भनाइ छ ।
गत वर्ष कोभिड–१९ संक्रमण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण गुजारा चलाउनै मुश्किल परेका मजदूर तथा विपन्न वर्गलाई थापाले व्यक्तिगत रुपमा दुई हजार घरपरिवारलाई लगभग ३० लाख मूल्य बराबरको खाद्यान्न सहयोग र कतिपय संक्रमितको उपचारमा आर्थिक सहयोगसमेत गरेको उनका भतिजा अंकित थापाले बताए ।