एउटा सानो कागजको टुक्रालाई सिंगारेर न्वारन गरिन्छ अनि नामकरण गरिन्छ पैसा । त्यही पैसाका पछि आज तपाई ,हामी अनि पुरै संसार दौडिरहेको छ । कसलाई कति पैसा भएपछि पुग्छ कुनै टुङ्गो छैन । पैसाको आवश्यकता मानिसलाई पर्छ । कति पैसाले मान्छेको आवश्यकता पुरा गर्न सकिन्छ यकिन भन्न सक्ने अवस्था छैन । तर जे होस् मानिसलाई पैसा कमाउनै छ । पैसाको आवश्यक हरेक क्षण परि नै हाल्दछ । पैसा कमाउन सजिलो छैन दुख छ । यसलाई जोगाउन उत्तिकै दुख छ ।

‘बाप बडा न भैया सवसे बडा रुपैयाँ ’भन्ने हिन्दी भनाई धेरै प्रचलनमा रहेको छ । यो भनाईले पनि के चित्रण गर्छ भने पैसा नै सबैभन्दा महत्वपूर्ण कुरा हो भन्ने भान आजका यस संसारका मानिसलाई लाग्न थालेको छ । पैसा सुख हो,अनि पैसा नै खुसी हो,मानिसलाई पैसा नहुँदा यहि लाग्न सक्छ ।

ठूलाबडाले टिका लगाइदिँदा पनि धेरै पैसा कमाउनु भनेर आशिर्वाद दिने गरेको हामीले सुन्ने गरेका छौ । पैसा नै आज जीवनको आवश्यकता हो जस्तो भएको छ । पैसा नहुँदा जीवन सुख हुन सक्दैन र ?जीवनमा पैसाले नै खुसी ल्याउँछ र ? पैसा नै जीवनको रमाउने साधन हो र ? यो कसरी बुझ्ने होला ! कसलाई सोध्ने होला ! विल गेट्स विश्वका धनी मानिस हुन् । उनी सुखी छन् कि दुखी छन् ।उनलाई पैसाले खुशी दियो होला ? के पैसा हुने मानिसहरु खुशी होलान त ?संसारका धनी मानिस संसारका खुशी मानिसमा पर्छन् त ! पैसाले मानिसलाई खुशी बनाउँदछ त !सडकमा माग्नेदेखि लिएर जो कोहीलाई पैसा कसरी कमाउने भन्ने धुन छ । कतिको जीवनको लक्ष्य नै पैसा कमाउने हुने गरेको छ । व्यवसायकोे मुल उद्धेश्य पैसा कमाउनु नै हो । जागिरको उद्धेश्य पनि पैैसा कमाउनु नै हो र यस देशमा राजनीति गर्नुको उद्धेश्य पनि पैसा कमाउनु नै रहेको देख्दा आम नेपाली चिन्तित देखिन्छन् । व्यवसायीले पैसा कमाउनु सामान्य लाग्न सक्छ तर आज यस देशमा कोसंग बढी पैसा छ भनेर खोज्ने हो भने राजनीतिज्ञसंग पाउन सकिन्छ । जसको कुनै व्यवसाय छैन । जसको कुनै जागिर छैन तर, पैसा उनैसंग छ ।

मानिस सामाजिक र सांस्कृतिक जीव हो । आधुनिक समाज र संस्कृतिलाई पकडमा राख्ने मानिसको मुख्य हतियार नै पैसा हो । अर्थशास्त्रले पैसालाई वस्तु वा सेवाको उत्पादन,वितरण र खपतको विनिमय सहज बनाउने एउटा उपकरण मानेको छ । अध्ययनहरुले मान्छेको दिमाग र पैसाबीच अत्यन्तै गहिरो सम्वन्ध रहने गरेको देखाएका छन् । यससम्वन्धी अनुसन्धानमा संलग्न स्टयान्डफोर्ड विश्वविद्यालयका मनोविज्ञान र न्युरोसाइन्सका प्राध्यापक ब्रायन क्नुट्सनले भनेका छन्,‘मानिसको दिमागमा पैसाको जत्तिको प्रभाव अरु केहीको छंँदै छैन, न नाङ्गो शरीरको न शवको । पैसाप्रति दिमाग धेरै सक्रिय रहन्छ । जसरी खानेकुराले कुकुरलाई उत्प्रेरित गर्छ , त्यसरी नै पैसासंग सम्बन्धित छ ।

पैसाप्रति मानिस यति धेरै लिप्त हुनुको खास कारण के भने आर्थिक लाभले हामीलाई प्रेममा पर्दाको जस्तो आनन्द दिन्छ । पैसा हात लाग्दा आनन्द भएजस्तै गुमाउँदा एक प्रकारको पीडा वा आर्थिक तनाव हुन्छ । पैसा छ भने म जे पनि गर्न सक्छु ,जे पनि किन्न सक्छु भन्ने मानसिकताले हामीलाई गाँजेको छ । पैसाले खाना ,कपडा , घरजग्गा किन्न सकिन्छ तर सबैथोक किन्न सकिदैन ।भौतिक सुख पैसाले किन्न सकिन्छ तर आध्यामिक सुख पैसाले किन्न सकिदैन । पैसाले खाना त किन्न सकिन्छ तर भोक किन्न सकिदैन , दवाई त किन्न सकिन्छ तर स्वास्थ्य किन्न सकिदैन,नोकर त राख्न सकिएला तर वफादारिता किन्न सकिदैन ।
पैसाले हामीलाई निश्चित रुपमा आफ्ना उद्धेश्यहरु हासिल गर्न सघाउँछ । आवश्यकताहरु पूर्ति गराउँछ । तर , एउटा सीमासम्म मात्रै । थोरै पैसाले थोरै आवश्यकता मात्र परिपूर्ति हुन्छन् । धेरै पैसाले, धेरै नै । तर, अथाह पैसाले असीमित चाहना पूर्ति गर्न सक्दैन । एउटा विन्दुबाट उकालो लागेपछि पैसा सहयोगी कम, प्रत्युत्पादक ज्यादा बन्ने जोखिम रहन्छ । त्यसले मानिसको स्वास्थ्य र भलाई दुवैमा बाधा पुर्याउन सक्छ ।

पैसा कति भए पुग्छ भन्ने प्रश्नमा धेरैले भन्ने गर्छन्–खान लाउन पुगोस् । एउटा घर होस् । बालबच्चा पढाउन सकियोस् । बिरामी पर्दा उपचार गर्न सकियोस् । अब यसैमा कसैले थप्न सक्छन् – बेलाबखत मनोरन्जन गर्न पाईयोस् । कम्तीमा एउटा स्थायी नोकरी ,एउटा कार र केही बैक व्यालेन्स होस् । तर मानिसको मन र इच्छा बढ्दो हुन्छ । चाहना र आकांक्षा यो भएपछि त्यो , त्यो भएपछि अर्को ,यसरी बढिरहन्छ जसले गर्दा मानिसको चाहनाले गर्दा पैसा पैसा पैसा भन्दै मानिस कुकर्ममा लागेको हामी यसै समाजमा देख्ने गरेका छौ । मानिसले हत्या गर्ने तथ्याङ्क हेर्ने हो भने बढी आर्थिक लेनदेन वा शारीरिक सम्बन्ध नै पाउन सकिन्छ ।
गौतम बुद्ध भन्नुहुन्छ–‘पैसा भनेको अंकहरु हो र अंकहरु कहिल्यै सकिदैन । यदि तिमी पैसा बटुलेर खुशी हुन खोज्छौ भने तिम्रो खुशीको खोजी कहिल्यै पूरा हुन सक्दैन ’ । हो हाम्रो जीवनमा हेर्ने हो भने मानिस खुशी पैसामा खोज्छन् । पैसा कमाउनु पर्छ भन्दै संघर्ष गर्दागर्दै जीवन समाप्त हुन्छ तर, पैसाले हामीलाई पुग्दैन ।

हाम्रो संस्कारमा लक्ष्मी पुजामा पैसालाई पुजा गर्ने भन्ने चलन रहेको छ । तर हामी अहिले यस्तो समाजमा बसेका छौ,जहाँ वर्षको एकदिन हैन ३ सय ६५ दिन नै पैसाको पुजा भैरहेको छ । पैसा कमाउने ध्याउन्नमा मानिस भ्रष्टाचारमा लिप्त बन्दैछ । पैसाकै कारण हत्या आतंक मच्चाउँदैछन् । मानिसहरु दिनमा होइन , छिन छिनमा पैसाकै चिन्ता र चासो गरिरहेका छन् । पैसा ! पैसा !! हे पैसा !!! पैसा कमाउने मोहमा मानिस द्रव्यपिपासु बनिरहेका छैनन् ?हामीले एक पटक सोचौ त !

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्