झापा , जेठ २९ । दमकमा एकैसाथ संक्रमण पुष्टि भएको ६० जनाको रिपोर्ट गायब गरिएको छ ।

दमकमा शुक्रबार ६० जनामा एकैसाथ संक्रमण पुष्टि भएको थियो । नगरपालिकाको स्वास्थ्य शाखाले कूल १४० जनाको स्वाव संकलन गरेर धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको थियो । त्यसमध्ये शुक्रबार ६० जनामा कोरोनाको दोश्रो भेरियन्ट प्रमाणित भएको हो । तर, त्यसको रिपोर्ट स्वास्थ्य कार्यालयले शनिबार पनि सार्वजनिक गरेको छैन । शुक्रबार नै रिपोर्ट आइसकेर दमक नगरपालिकाले स्वास्थ्य कार्यालयलाई पठाएको थियो । तर, स्वास्थ्य कार्यालयले शुक्रबार दमकमा २ महिलासहित ७ जना मात्र संक्रमित भएको तथ्यांक दिएको थियो । शनिबारको तथ्यांकमा पनि ती संक्रमित समेटिएनन् । शनिबार दमकमा ३ महिलासहित १३ जना मात्र संक्रमित भएको जानकारी दिइयो ।आफूले शुक्रबार नै दमकमा ६० जना संक्रमित भएको रिपोर्ट स्वास्थ्य कार्यालयलाई पठाएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । ‘ मैले शुक्रबार नै रिपोर्ट पठाएको हुँ ’उनले भने,‘ खोई के भएर तथ्यांकमा हाल्नु भएन ।’यस बारेमा स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन जीवन चौलागाईसँग बुझ्दा उनले दमकबाट ६० जनाको रिपोर्ट आएको बारे अनभिज्ञता प्रकट गरे । उनले छुटेको भए त्यसलाई आइतबारको तथ्यांकमा समेट्ने बताए । जिल्लाका पालिका र स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्यांक कहिल्यै मिल्दैन । जिल्ला प्रशासन कार्यालयले प्रमाणित गरेपछि मात्र तथ्यांक सार्वजनिक गर्ने गरिएको बताइन्छ ।तर , जुन तथ्यांक यकिन गरेर एउटै बनाइएको हुँदैन ।कतिपयले संक्रमण कम देखाउन परीक्षणको दायरा घटाएको र संक्रमितको सँख्या लुकाएको हुनसक्ने आशंका गरेका छन् । झापामा केही दिनदेखि संक्रमितको सँख्या घट्दै गएको देखाइएको छ । शनिबार ४५ जनामा मात्र संक्रमण पुष्टि भएको तथ्यांकमा उल्लेख छ । त्यस्तै २५० जना डिस्चार्ज भएको जनाइएको छ ।
यसैबीच झापामा संक्रमितहरुको सँख्या घट्दै गएपनि संक्रमितको मृत्यु दरमा कमी आउन सकिरहेको छैन । पछिल्लो चौबीस घण्टामा झापाका तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनैजना महिला रहेका छन् । तीनैजनाको बिर्तासिटी हस्पिटलमा मृत्यु भएको हो । बाह्रदशी २ की ६० वर्षिया राजवंशी समुदायकी महिलाको शनिबार बिहान मृत्यु भएको हो । सोही हस्पिटलमा मेचीनगर १३ की ६६ वर्षिया महिला र बुद्धशान्ति ४ की ७३ वर्षिया बृद्धाकोे पनि मृत्यु भएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या २९६ पुगेको छ ।
यसैबीच कोरोना संक्रमण भई उपचाररत शिवसताक्षी नगरपालिका दूधेका एकजना युवा व्यवसायीको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ७ व्याङ्गडाँडा निवासी ४६ वर्षीय ती व्यवसायीको उपचारको क्रममा आम्दा अस्पताल दमकमा मृत्यु भएको हो । उनलाई गएको जेठ ११ गते कोरोना पोजेटिभ देखिएपछि १३ गते अस्पतालमा भर्ना गरिएको शिवसताक्षी नगरपालिका कोभिड फोकल पर्सन रोशन अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार उनको फोक्सोमा गम्भीर संक्रमण देखिएको थियो । लामो समय भेन्टिलेटरमा राखेर उपचार गराइरहेको अवस्थामा उनको शुक्रबार बेलुका मृत्यु भएको फोकल पर्सन अधिकारीले बताए । उनले भने, ‘ पटक पटकको पिसिआर पोजेटिभ देखिएपनि शुक्रबार गरिएको रिपोर्ट भने कोरोना नेगेटिभ आएको हो ।’ पिसिआर नेगेटिभ आएपछि परिवारले नै शव व्यवस्थापन गर्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ । ती व्यवसायीले दूधे बजारमा कपडा व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्