झापा , जेठ ३० । नेपाली कांग्रेस निर्माण व्यवसायी समन्वय विभागका केन्द्रीय सदस्य तथा होनहार युवा नेता दिपेन्द्र पोखरेलको निधनप्रति पार्टीले दुख व्यक्त गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयले एक शोक वक्तव्य जारी गरी पार्टीको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय र अविस्मरणीय भूमिका निर्वाह गरेका पोखरेलको निधनले भविष्यको एक आशालाग्दो र सक्षम नेतृत्व गुमाउनु परेको जनाएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भनेका छन्— ‘नेपाली कांग्रेस झापाका उदीयमान युवा नेता दिपेन्द्र पोखरेललाई गुमाउनु पर्दा मलाई अत्यन्त दुःख लागेको छ । पोखरेलको विदाइले झापा कांग्रेसले भविष्यको एक आशालाग्दो र सक्षम नेतृत्व गुमाएको छ । भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै म उहाँको आत्माको चिर शान्तिको कामना गर्दछु । पाको उमेरका उहाँका श्रद्धेय मातापिता, जीवन साथी र साना छोराछोरी सहित शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’

झापामा गम्भीर विरामी भई एक महिनाभन्दा लामो समयदेखि काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत पोखरेलको जेठ २७ गते मध्यरातमा ५३ वर्षको अल्पायुमा निधन भएको हो । नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको राजनीतिबाट अगाडि आएका पोखरेल सक्रिय रुपमा राजनीति र समाजसेवामा लागेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्