झापा, जेठ ३० । उदयपुर ताप्ली गाउँपालिका ४ पोखरीस्थित कच्ची सडकमा बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते छन् ।

हिजो बेलुका साढे ७ बजे लहानबाट लखनडाँडातर्फ मिलको मेशिन बोकेर जादै गरेको बा १८ च १५६७ नम्वरको बोलेरो गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खस्दा बोलेरोमा सवार ४ जनामध्ये एकजनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा सिन्धुली दुधौली नगरपालिका १० का ६० बर्षीय इन्द्रवहादुर बि.क. रहेका छन् ।
सो दुर्घटनामा उदयपुर कटारी नगरपालिका १० का बोलेरो चालक ३५ बर्षीय डाँकनारायण श्रेष्ठ, उदयपुर ताप्ली गाउँपालिका ४ ठानागाउँ ज्यामिरेका ३० बर्षीय झगरबहादुर सार्की र सोही स्थानका २६ बर्षीय डम्वरबहादुर तामाङ घाईते भएका छन् । घटनाको जानकारी पाएलगतै प्रहरी चौकी रुपाटार र रामपुर झिल्केबाट गएको प्रहरी टोलीले घाईतेमध्ये श्रेष्ठ र सार्कीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाएको छ भने अर्का घाईते तामाङ सामान्य हात खुट्टा चोट लागेकोले सामान्य उपचारपश्चात् घरमा नै रहेको १ नं प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्