मेचीनगर, जेठ ३० । झापाको मेचीनगर—६ काँकरभिट्टामा अव्यवस्थित र फुटपाथरुपमा व्यवसाय गदैं आएका व्यवसायीहरुको समस्या अब समाधान हुने भएको छ । यो समस्या काँकरभिट्टाको धेरै पुरानो समस्या हो । अब भने समस्याको दिर्घकालीनरुपमा समाधान हुने भएको हो । तर, यस कार्यको कतै विरोध त कतै समर्थन भइरहेको छ ।

राजमार्गको दायाँ वायाँ पेटी र अन्य भागमा फुटपाथरुपमा साना व्यवसाय सञ्चालन गदैं आएका व्यवसायीलाई व्यवस्थित गर्ने उद्घेश्यले काँकरभिट्टामा टहरा निर्माण सुरु गरिएको छ । नेकपा एमाले झापा जिल्ला कमिटी सदस्य एवम् पूर्व काँकरभिट्टा गाविस अध्यक्ष डिल्लीराम घिमिरेले २०६८ सालमा मेचीनगर — काँकरभिट्टा बस टर्मिनल तथा मेचीनगर —७ को प्यारीभिट्टा बसपार्क निर्माणका क्रममा काँकरभिट्टा बस टर्मिनल क्षेत्रभित्र सानो व्यवसाय गरेर जीवन गुजारा गरिरहेका व्यवसायीहरुलाई काँकरभिट्टा बस टर्मिनल आसपासमै नगरपालिकाले भविष्यमा स्थान उपलब्ध गराउने लिखित सम्झौता गरी व्यवसायी बसेको ठाउँ खाली गराए पनि केहीबाहेक अन्यलाई स्थान उपलब्ध गराउन नसकेको सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

बाँकी व्यवसायीहरुलाई व्यवस्थित गर्नका लागि नगरपालिकाले काँकरभिट्टा बस टर्मिनलको पूर्वदक्षिण नेपाल बैंक उत्तरपट्टि संरचना निर्माण शुरु गरेको हो । यसका लागि नगरपालिकाले १८ लाख रुपैयाँ विनियोेजन गरेपनि १७ लाख ९७ हजार ८ सय ५७ रुपैयाँमा उपभोक्ता समितिमार्फत निर्माण कार्य शुरु गरिएको बताइएको छ । २०७८ बैशाख २७ गते सम्झौता गरी चालु आर्थिक वर्ष २०७७÷२०७८ भित्रै २८ कोठे संरचना निर्माण सम्पन्न गर्नुपर्ने नेपाल बैंक पछाडी पसल टहरा निर्माण उपभोक्ता समितिले जनाएको छ ।

यता बसपार्कसँग प्रत्यक्ष सरोकार रहेका पक्षले बसपार्कमा भइरहेको संरचना निर्माण तत्काल रोक्न आग्रह गरेका छन् । बसपार्कको पूर्वी मोहडाबाट प्रवेशद्वार दक्षिणपट्टिको खुल्ला क्षेत्रमा टहरा निर्माण सुरु गरेको भन्दै यातायात व्यवसायी, होटल व्यवसायी, ट्राभल्स व्यवसायीलगायतका १३ वटा संस्थाले एक विज्ञप्ति प्रकाशित गरी विरोध र असहमति जनाएका हुन् । तर, नेपाल बैंक पछाडी पसल टहरा निर्माण उपभोक्ता समितिका अध्यक्ष कुलदिप राईले भने नगरपालिकाले निर्माण कार्य रोक्न नभनेसम्म निर्माण कार्य धमाधम हुने बताएका छन् । ‘क–कसले विरोध गर्छ हामीलाई थाहा छैन’अध्यक्ष राईले भने,‘हामीलाई त नगरपालिकाले काम रोक्नु पर्यो भनेर पत्र दिनु पर्यो अनि मात्र हामीले रोक्ने हो ।’

नगरपालिकाले बसपार्क साँघुरो हुने गरी निर्माण गर्दै गरेको संरचना र त्यसले भविष्यमा पार्न सक्ने असरलाई लक्षित गरी खबरदारीसहितको सामुहिक आवाज उठाएको सम्बन्धित पक्षको भनाई छ । बसपार्क अतिक्रमण हुनबाट बचाउन सबै सरोकारवाला पक्षसँग आव्हान गर्दै जारी गरिएको विज्ञप्तिमा पूर्व मेची वस व्यवसायी प्रा.लिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, पूर्व नेपाल यातायात व्यवसायी प्रा.लि.का अध्यक्ष केशव गिरी, सुनौलो संयुक्त यातायात व्यवसायीका अध्यक्ष भुपाल ओली, नागरिक यातायात प्रा.लिका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेती, सगरमाथा यातायात प्रा.लिका अध्यक्ष मेदनी खरेल, ट्राभल्स संघ झापाका अध्यक्ष नीरबहादुर कार्की, मेचीनगर होटल व्यवसायी संघका अध्यक्ष सुरेशकुमार श्रेष्ठ(गोपाल) नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष खडानन्द भण्डारी, मेचीनगर अटो एण्ड इ रिक्सा यातायात प्रालिका अध्यक्ष दावा तामाङ र मेची अञ्चल टेम्पु इरिक्सा यातायात प्रा.लिका अध्यक्ष गणेश चौहानले हस्ताक्षर गरेका छन् ।

मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले विगतमा मुख्य राजमार्ग र बसपार्क क्षेत्रबाट विस्थापित भएका फुटपाथ व्यवसायीहरुलाई व्यवस्थित गर्नका लागि संरचना निर्माण गरिएको बताए । ‘एक सयबढी व्यवसायीहरुले फुटपाथमा व्यवसाय चलाएर बसेका थिए ’ नगरप्रमुख आचार्यले भने ,‘ विस्थापित भएका व्यवसायीहरुमध्ये बाँकी रहेका करिव ४० जना व्यवसायीहरुका लागि योजना बमोजिम संरचना निर्माण गरिएको हो ।’ धेरै विस्थापित व्यवसायीहरुलाई यसअघि नै बसपार्क नजिकैको नगरपालिकाको सटरमा व्यवस्थापन गरिएको छ । बसपार्क क्षेत्र नगरपालिकाको सम्पति रहेको भन्दैं नगरप्रमुख आचार्यले बसपार्क प्यारिभिट्टामा रहेको र यो बस टर्मिनल मात्र भएको बताए । यहाँ बस पार्किङ गरेर राख्न नपाई उनको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्