यज्ञराज श्रेष्ठ,
धनकुटा , जेठ ३१ । धनकुटा जिल्लाको पर्यटकीय र रमणीय ठाउँ भेडेटारबाट राजारानी हँुदै केही तल आईपुग्छ चौबिसे गाउँपालिका वडा नम्बर ७ को तल्लो गिद्दे पिपलडाँडा । जिल्लाको कच्ची सडकले जोडिएको यो गाउँमा आजभोलि पुग्दा प्रत्येक घरका बारीमा सुन्तलासंगै टमाटर खेती र घरको सिकुवामा टमाटरको थुप्रो देख्न पाइन्छ । ३८ घरधुरी रहेको सो गाउँका सबैजनाले अन्य बालीको सट्टामा टमाटर उत्पादन गरेका छन् ।
करिब १५–२०बर्ष अगाडि सो गाउँमा धान, मकै, कोदोलगायतका अन्य बाली लगाउने गरिन्थ्यो । गाउँमा सडक पुगेर बारीमा फलेको सुन्तला बिक्री हुन थालेपछि गाउँ नै सुन्तला गाउँ हुनपुग्यो । बारीमा सुन्तला भएपछि धान, मकैलगायतका बाली लगाउन अफ्ठ्यारो भएका कारण अन्तरबालीको रुपमा टमाटर लगाउन थालिएको बताउँछन् गाउँका अगुवा कृषक निलाराम श्रेष्ठ । हुन त, यो अवस्थामा त्यतिकै आएको भने होइन । सुरूको केही बर्ष टमाटरको उत्पादन थोरै हुँदा नबिकेर बारीमै कुहिएको थियो । नबिकेर गाई, भैंसी, बाख्रा आदिलाई खुवाएको पनि श्रेष्ठले बताए ।
असफलतामै सफलता लुकेको हुन्छ भनेझै गाउँभरि नै टमाटर लगाउन थालेपछि नबिक्ने कुरै भएन । प्रत्येक घरमा ५देखि ७ रोपनी जग्गामा लगाइएको टमाटरले यो सिजनमा मात्र ५० हजारमाथि आम्दानी हुने र पछि सुन्तलाको आम्दानी छुट्टै छ । यसरी एउटै गाउँमा नियमित र धेरै उत्पादन भएपछि बिक्री गर्ने जिम्मा पनि स्थानीयले नै लिएका छन् । जसबाट स्थानीयलाई रोजगार मिल्नुका साथै बिचौलियाको समस्या नभएको श्रेष्ठले सुनाए । सो टमाटर धरान, इटहरी हँुदै बिर्तामोडसम्म आइपुग्ने गर्छ । त्यस गाउँमा सिंचाई, बिजुली, बाटो र इन्टरनेटको सुबिधा छ । सामुहिक खेतीबाट बर्षको दुई पटक टमाटर र सुन्तलाको आम्दानीले आर्थिक उन्नति हुनुको साथै गाउँ नै उदाहरणीय बनेको छ ।
Krisak ko ramro mulyankan hariyeko x. Yesle garda ajhai hausala, jagar badna sakx. Dhanyanad yo khabar sampresan garidinu vayekoma hardik avar.