बिर्तामोड,जेठ ३१ । नेपाली कांग्रेसका विभिन्न तहका नेताहरुले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार ‘इतिहासकै निकम्मा र नालायक’ भएको आरोप लगाएका छन् ।


नेपाली कांग्रेस झापाको आयोजनामा सम्पन्न भर्चुअल बैठकमा कोभिड महामारी नियन्त्रणको पूर्वतयारी, संविधानको रक्षाका सवालमा कामै गर्न नसकेको सरकार ‘इतिहासकै लाछी’ भएको जिकिर गरेका हुन् ।
कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारले बेलैमा सरकारी अस्पतालको स्तरोन्नति, खोप खरिद, अस्पतालहरुमा अक्सिजन प्लान्ट जडानलगायतका पूर्वतयारी गरेको भए यतिधेरै जनताको ज्यान कोभिडका कारण नजाने उल्लेख गर्दै सरकारको अकर्मण्यताका कारण धेरैले ज्यान गुमाउनुपरेको बताए ।
संविधान मिचेर सत्ता टिकाउने काममा सरकार सक्रिय रहेको उल्लेख गर्दै पूर्व उपप्रधानमन्त्री तथा संविधान मस्यौदा समितिका संयोजक समेत रहेका नेता सिटौलाले भने–‘सरकारकै कारण देशको राजनीति संकट उन्मुख छ, सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेरै छाड्ने मलाई विश्वास छ ।’

कार्यक्रमका विशेष अतिथि तथा युवा नेता नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले प्रविधिको प्रयोगमार्फत क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको कार्य अन्तिम चरणमा पु¥याएको बताउँदै प्रविधिमार्फत नै मनोनयन दर्ता र महाधिवेशनका सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिने जानकारी दिए ।
कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले विपदमा कांग्रेस अभियान चलाएर कोभिड, बाढी, पहिरो, नदीकटान जस्ता प्रकोपमा प्रकोप पीडितको घर–घरमा पुग्ने अभियान सञ्चालनको पूर्वतयारी योजना बनाउन आग्रह गरे ।
कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले संवैधानिक रुपमा पार्टीको महाधिवेशन नगरी पनि नहुने र गर्दा पनि असाधारण हुने अवस्था रहेको बताउँदै यसको उचित निर्णय केन्द्रीय समितिले लिने बताए ।
कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईले मुलुकको संविधानको रक्षा, कोरोना भाइरसको ब्यवस्थापन र पार्टीको महाधिवेशन कांग्रेसका प्रमुख जिम्मेवारी रहेको उल्लेख गर्दै पार्टीको बैधता समाप्त हुने हुँदा महाधिवेशन निर्धारित समयमा गर्नैपर्ने बाध्यता रहेको बताइन् ।
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्व र प्रवक्ता लोकराज ढकालको सहजीकरण तथा प्रविन निरौलाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा कांग्रेस नेताहरु पूर्णानन्द शर्मा, रामकुमारी पौडेल, सिता पौडेल, राजेन्द्र रिजाल, दीपक तामाङ, पदम प्रसाई, सुन्दरा लुहागुन, गोमा भट्टराई, देउमान थेवे, भक्ति सिटौला, अन्तर्राष्ट्रिय झापाली समाज उपाध्यक्ष नवीन पोखरेल, गोविन्द पौडेल, क्षेत्रीय सभापतिहरु मणि उप्रेती, खगेन्द्र मैनाली, गणेश पोखरेल, जयनारायण शाह, ढुण्डिराज भण्डारीलगायतले कोरोना भाइरस संक्रमणको अवस्था, राहत वितरण, पार्टीको चौधौ महाधिवेशन, सरकारका गतिविधिलगायतका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्