शिवकुमार अग्रवाल
‘भाइ तिमीलगायतको ग्लोबल ग्रान्ट टिमले मेरो कार्यकालमा ग्लोबल ग्रान्टअन्तर्गतको बृहत प्रोजेक्ट गर्नुपर्छ है ! मलाई तिम्रो पुरापूर साथ चाहिन्छ । किनभने मेरो कार्यकालमा रोटरी बिर्तामोड मिडटाउनलाई नमूना रोटरी बनाउने मेरो चाहना छ, यसका लागि मलाई तिमीले सघाउनु पर्छ ।’

रोटरियन दिपेन्द्र पोखरेलले केही महिनाअघि मसँग गरेको यो भलाकुसारी यतिखेर थप गाढा बनेर मेरो मन–मस्तिष्कमा घुमिरहेको छ । पटक्कै पत्यार लागेको छैन एउटा स्वस्थ अनि बलियो शरीर हामीसँग कहिल्यै नबोल्ने गरी ढलेको छ भन्ने । तर, यथार्थबाट भाग्न पनि त नसकिँदो रहेछ । पत्याउन वाध्य भएको छु — एउटा ऊर्जाशील युवा उद्योगी–व्यवसायी, समाजसेवी, असल राजनीतिज्ञ अनि असंख्य निमुखाहरुका आड–भरोसाका केन्द्र, झापा बिर्तामोड–३ निवासी दिपेन्द्र पोखरेल हामीबीच रहनु भएन ! कामका सन्दर्भका हुन् वा फुर्सदकै समयका किन नहुन् दिपेन्द्र दाईसँगका हरेक साक्षात्कारहरु एकपछि अर्को गर्दै आँखामा झल्झली आइरहेका छन् ।
दिपेन्द्र दाईलाई धेरै सुखमा पनि नमात्तिने र असाध्यै दुःखमा पनि नआत्तिने सरल स्वभावको व्यक्तित्वको रुपमा मैले बुझेको छु । बिर्तामोडको सन्दर्भमा, अझ भनौं झापा जिल्लाकै सन्दर्भमा — सामाजिक क्रियाकलाप होस् वा औद्योगिक–व्यावसायिक विषय किन नहुन् — सहभागिताका लागि दिपेन्द्र पोखरेलको नाम सबैले लिने गरेको मैले पाएको छु । त्यस्ता मानिस अत्यन्तै थोरै हुन्छन्, जसलाई सबै क्षेत्रले सम्झेको होस् — त्यस्ता सारै थोरै नाममध्ये दिपेन्द्र पोखरेल पनि एक हो भन्ने मलाई लाग्छ । बिर्तामोडमा अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरी क्लव अफ बिर्तामोड मिडटाउन स्थापना गर्दैगर्दा र यसबारे उहाँलाई जानकारी दिँदै सहभागिताका लागि आग्रह गर्दैगर्दा उहाँले दर्शाउनुभएको स्वीकृतिका भाव र रोटरीमार्फत गर्ने सामाजिक सेवाभाव पनि यतिखेर सम्पुर्ण रोटरियनका लागि मार्गदर्शक प्रेरणाको भाव बनेको छ । उहाँ रोटरी मिडटाउनको सदस्य मात्र बन्नुभएन, रोटरीमा आवद्ध भएदेखि नै नेतृत्वलाई तन, मन, धनले सघाउनु भयो, प्रत्यक्ष रुपमा रोटरीले गर्ने सामाजिक सेवा कार्यमा खट्नुभयो । उहाँ रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको सन् ०२१–०२२ को ’इनकमिङ प्रेसिडेन्ट’ हुनुहुन्थ्यो । केही दिन मात्र छ, नयाँ नेतृत्व चयन हुन । त्यतिखेर यो अनुहार देखिने छैन ! निःशब्द छु म । फेरि पनि भन्न बाध्य छु — विधिको विधान उल्लंघन गर्ने सामथ्र्य मनुष्यमा छैन, कालको गति रोक्न कसैले सक्दैन । दिपेन्द्र दाई — तपाईंका हरेक शब्दहरु हाम्रा लागि अमूल्य निधि बनेर रहनेछन् । हामी रोटरी क्लव अफ बिर्तामोड मिडटाउनलाई तपाईंले सोचजस्तै ‘नमूना रोटरी’ बनाउने हरसम्भव प्रयत्न गर्नेछौ ।
अन्त्यमा, अब कुनै पनि औपचारिक वा अनौपचारिक सभा–सम्मेलन, कार्यक्रमहरुमा त्यो अग्लो, आकर्षक, प्रिय व्यक्तित्व देखिने छैन, उफ ! तर, म भन्छु त्यो अग्लो भौतिक शरीरभन्दा कयौं गुणा अग्लो सम्झना हामी सबैको मनमस्तिष्कमा विराजमान भएर सदा रहनेछ ! अलविदा दिपेन्द्र दाई ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्