सुरेश आले ‘सर्जु’
बिर्तामोड , असार ३ । झापा बिर्तामोड ९ का कंचनटोल र बद्रीबाडीका कृषकद्वय दुर्गा सेडाई र यज्ञराज श्रेष्ठ यतिखेर टनेलमार्फत रायोको साग उत्पादन गर्न ब्यस्त छन् ।

उनीहरु दुवैको टनेलमा उत्पादित रायोको साग बिक्री गर्न योग्य भैसकेको छ । यो रायो ४५ दिनअघि बीउ छरेर रोपिएको हो । उनीहरु दुवैजनाले छिटो छरितो तरिकाले टनेलमा साग उत्पादन गरेर बर्षभरि बिक्री गर्ने गरेका छन् ।
प्रतिकिलो २ हजार रुपैयाँ पर्ने रायोको बीउ दुर्गाले २ वटा टनेलमा प्रयोग गरी रायो साग उत्पादन गरेकी छिन् । उनले यसपटक साग उत्पादनको लागि १ केजी बीउ छरेकी थिइन् ।
यज्ञराजले भने आफैले उत्पादन गरेको रायोको बीउ प्रयोग गरी २ वटा टनेलमार्फत रायोको साग उत्पादन गरिरहेका छन् । आफैले उत्पादन गरेको बीउ परीक्षण गरिरहेको उनले बताए ।

बेमौसमी रायो उत्पादन गर्न गाह्रो भएपनि बजारमा यसको उच्च माग रहेको उनीहरुको भनाई छ । उनीहरुले नेपाली र चाईनिज रायोको साग उत्पादन गर्ने प्राथमिकतामा राखेका छन् ।दुवैजना नवकिरण अग्र्यानिक तरकारी उत्पादक समूहका सदस्य हुन् । समूहलाई टनेल बनाउने खर्च र टनेलमा ढाक्ने प्लास्टिक नगरपालिकाले दिएको हो । तर बीउबिजन र किट्नाशक औषधि भने नगरले नदिएको उनीहरुले बताए । तरकारीमा उनीहरुले अग्र्यानिक औषधि प्रयोग गरेका छन् । नवकिरण समूहका अन्य सदस्यहरु पनि यसरी नै टनेलमार्फत तरकारी उत्पादन गर्ने गर्छन् । रायोको साग उत्पादन गर्न झार र किराले दुःख दिन्छ । मेहनत गरे राम्रो आम्दानी गर्न सकिने दुवैको अनुभव छ । छोटो समयमा राम्रो आम्दानी लिन टनेल राम्रो विकल्प भएको अगुवा कृषक यज्ञराजले बताए ।
अघिल्लो साल दुर्गाले ८० हजारसम्मको साग बिक्री गरेकी थिइन् भने यज्ञराजले पनि सोही हाराहारीमा बिक्री गरेको अनुमान गरेका छन् ।
लकडाउनले तरकारीको बजार केही खस्केपनि मूल्य भने समय अनुसार हेरफेर भैरहन्छ । मौसमी र बेमौसमी तरकारी उत्पादन गरेर राम्रो घर खर्च चलाईरहेका दुवैजना नगरका अगुवा कृषकमा मानिन्छन् ।

१ प्रतिक्रिया

  1. धेरै राम्रो छ हजुर हरु को यो ब्याबसायिक कार्य।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्