दमक, असार ३ । कोरोना संक्रमणको तेस्रो लहरमा अवस्था झन् भयावह हुने भन्दै त्यसको तयारीमा लाग्न चिकित्सकहरुको सुझाव दिएका बेला दमकमा निजी क्षेत्रको पहलमा भेन्टिलेटर खरिदको पहल हुन थालेको छ ।

उद्योग बाणिज्य संघ दमकको अगुवाईमा गम्भीर प्रकृतिका बिरामीहरुको उपचारको लागि भेन्टिलेटर खरिदको प्रक्रिया अघि बढाईएको संघका अध्यक्ष गोकुल श्रेष्ठले बिहीबार बाणिज्य संघको कार्यालयमा भएको छलफलमा जानकारी दिए । संघका पूर्व अध्यक्ष प्रकाश प्रसाईंको संयोजकत्वमा भेन्टिलेटर खरिद समिति गठन गरी तत्काललाई ५ वटा भेन्टिलेटर खरिद गर्नेगरी प्रक्रिया सुरु गरिएको उनले बताए । समितिले भेन्टिलेटर खरिदको लागि आर्थिक संकलन सुरु गरेको समितिका संयाजक प्रसार्इंले जानकारी दिए । उद्योग बाणिज्य संघ दमकले १ लाख ५१ हजार सुरुवाती रकम जम्मा गरेपछि अन्य व्यवसायी तथा सर्वसाधारणबाट रकम संकलनको काम थालिएको उनले बताए ।

हालसम्म समितिमा १० लाख ५२ हजार रुपैयाँ जम्मा भएको भन्दै उनले उद्योग बाणिज्य संघ दमकको नाममा रहेको नविल वैंक दमक शाखाको खाता नम्बर ०२२०१०१७५०१४३५ मा रकम जम्मा गर्न सकिने जानकारी दिए । प्रसाईं संयोजकत्वको समितिले बिज्ञहरु सम्मिलित अन्य उपसमिति समेत गठन गरी भेन्टिलेटर खरिदको लागि प्रक्रिया अघि बढाएको छ । औषधि व्यवसायी संघ झापा अध्यक्ष गौतम गुप्ताको संयोजकत्वमा चिकित्सक र ईन्जिनियरसहितको बिज्ञ समिति र उद्योग बाणिज्य संघ दमकका कार्य समिति सदस्य भरत चौलागाईं संयोजक रहेको भेन्टिलेटर खरिदका लागि अध्ययन तथा समन्वय उपसमिति गठन गरेर खरिदको लागि सुझाव लिईरहेको संयोजक प्रसार्इंले बताए । यहि असारभित्रमा भेन्टिलेटर ल्याउनेगरी खरिद प्रक्रिया सुरु गरिएको उनले बताए ।
हाल दमकमा सरकारी र निजी क्षेत्रका अस्पतालहरुमा गरी जम्मा १४ वटा भेन्टिलेटर रहेको दमक नगरपालिका स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्