झापा , असार ५ । अन्यत्र कोरोना खोप लगाउनका लागि तछाडमछाड छ । तर , कचनकवल गाउँपालिकाबाट भने कोरोनाको खोप उब्रिएर फिर्ता गएको छ ।

कचनकवल गाउँपालिकाले ५९१ भाइल कोरोनाको भेरोसेल खोप पाएको थियो । त्यसमध्ये ३६१ वटा फिर्ता गएको हो । स्वास्थ्य कार्यालय झापाले ६२ देखि ६४ वर्ष उमेर समूहको जनसँख्या हेरेर जिल्लाका पालिकाहरुलाई खोप उपलब्ध गराएको थियो । त्यसक्रममा कचनकवल गाउँपालिकाले ५९१ वटा खोप पाएको थियो ।‘हामीले जेठ २६ गते खोप लगाउने कार्यक्रम राखेका थियौं’गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले भने ,‘अर्को दिन समय थप्न नपाई स्वास्थ्य कार्यालयले फिर्ता लिएर गयो ।’ उनले स्वास्थ्य कार्यालयले भोलिपल्ट विहानै गएर आफूखुशी खोप फिर्ता लगेको बताए । पछि परेका आदिबासी , मुश्लिम , मधेसी समुदायको बढी बसोबास रहेको कचनकवलमा कोरोना खोपको महत्व अझै बुझिनसकेको स्वास्थ्य प्रमुख यादवको भनाई छ । कचनकवलमा ६२ देखि ६४ वर्ष उमेर समूहका धेरैजना खोप लगाउन छुटेका छन् । आफूहरुले बनाएको लक्ष्य अनुसार लक्षित उमेर समूहका व्यक्तिहरु खोप लगाउन नआएको यादवले बताए । शहर बजारमा कोरोना खोपको माग उच्च भएको बेला आफूहरुको कचनकवलबासीहरुले भने खोपप्रति खासै चासो नदेखाएको उनले बताए । कोरोनाको पहिलो लहरमा आफूले बंैक तथा वित्तीय कर्मचारीहरुलाई तीनपटक सम्म आग्रह गर्दा पनि उनीहरुले खोप नलगाएको स्मरण गर्दै यादवले अशिक्षितहरुलाई सम्झाउन झनै समस्या हुने गरेको बताए । कचनकवलबाट फिर्ता आएको खोप स्वास्थ्य कार्यालयले बिर्तामोड पठाएको थियो ।
झापामा ६२ देखि ६४ वर्ष उमेर समूहका लागि गत जेठ २६ र २७ गते कोरोनाको खोप लगाउने कार्यक्रम थियो । झापामा जम्मा १३ हजार २ सय भाइल खोप आएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।कार्यालयले ती खोप जिल्लाका १५ वटा पालिकालाई वितरण गरेको थियो । कचनकवलले ५९१ , बिर्तामोडले १२३६ , कमलले ६६९ , कनकाईले ९०० , शिवसताक्षीले ९६६ , बाह्रदशीले ५०१ , झापा गापाले ५१६ , गौरादहले ७८९ , गौरीगञ्जले ४८९ , मेचीनगरले १६८९ , बुद्धशान्तिले ६२१ , अर्जुनधाराले ९०० र दमकले १३३५ भाइल खोप पाएको स्वास्थ्य कार्यालयका बालकृष्ण भण्डारीले बताए । उनले पालिकाहरुको जनसँख्यालाई हेरेर प्राप्त खोपलाई समुचित वितरण गरिएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले ६२ देखि ६४ वर्ष उमेर समूहका जिल्लाका ज्येष्ठ नागरिकहरुका लागि २६ हजार ६०० भाइल माग गरेको थियो । तर , स्वास्थ्य मन्त्रालयबाट १३ हजार २०० भाइल मात्र उपलब्ध गराइएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्