रामप्रसाद ढुंगेल,
अबुधाबी , असार ५ । वैदेशिक रोजगारीको क्रममा रहँदा ओभरस्टे भएर समस्यामा परेका १८ नेपाली कामदारहरु नेपाली दूतावास अबुधाबीको समन्वयमा नेपाल फर्केका छन् ।

अबुधाबीको एक कन्स्ट्रक्सन कम्पनीका २४ जना नेपालीहरु समस्यामा परेपछि समाधानका लागि करिब २ महिना अगाडि नेपाली दूतावास पुगेका थिए । नयाँ कम्पनीमा जाने क्रममा रहेका ती नेपालीहरुको भिसा नलागेपछि ओभरस्टे भएका ती युवाहरु समस्यामा परेका थिए । नेपाली दूतावास अबुधाबीले हरेकको समस्यालाई नजिकबाट हेरेर समस्या समाधानको लागि स्थानीय कम्पनी र अबुधाबी इमिग्रेसनमा समन्वय गरेर १८ जनालाई स्वदेश फिर्ता र ६ जनालाई नयाँ कम्पनीमा भर्ना हुन सहजीकरण गरेको दूतावासका श्रम काउन्सिलर निर्मला थापाले बताइन् ।
काउन्सिलर थापाका अनुसार हरेक व्यक्तिको न्यूनतम ७ हजार ५ सयदेखि अधिकतम १२ हजार ७ सय दिराम (करिब २ लाख रुपैयाँ देखि ४ लाख नेपाली रुपैयाँ) गरेर करिब १ लाख दिराम जरिवाना तोकिएको थियो । उक्त जरिवानालाई नेपाली दूतावास अबुधाबीको समन्वयमा एकमुष्ठ ९ हजार दिराम सम्बन्धित कम्पनीले तिर्नेगरी व्यवस्थापन मिलाएर नेपाली कामदारहरूलाई ठूलो आर्थिक जरिवानाबाट मुक्ति दिलाएर नेपाल पठाइएको छ ।
दूतावासको समन्वयमा स्थानीय प्रशासनले जरिवाना घटाएर, कामदारले पाउनुपर्ने तलब, सेवा र अन्य सुबिधासहित सम्बन्धित कम्पनीबाट हवाई टिकट उपलब्ध गराउन नेपाली दूतावास अबुधाबीले संयोजन र समन्वय गरेको हो । यो कार्यमा नेपाली दूतावासका जनसम्पर्क अधिकारी राजी र इर्फानले रातको समयमा पनि सम्बन्धित कामको लागि फिल्डमा गएर काम गरेको काउन्सिलर थापाले जानकारी दिइन् ।

समस्यामा परेका २४ जनामध्ये ६ जना नेपालीले युएईमै नयाँ काम पाएकोले उनीहरूको समस्या समाधान भएको छ भने १८ जना इत्तेहाद एयरलाइन्सको विमानमा अबुधाबीदेखि नयाँ दिल्ली हुँदै गत असार १ गते मंगलबार नेपाल पुगेका छन् ।
कामदारले आफ्नो भिसा क्यान्सिल गरेको निश्चित दिनभित्र (बढीमा २८ दिन) देश नछाडे वा नयाँ भिसा लगाउन नसकेमा दैनिक रूपमा जरिवाना तिर्नुपर्ने हुन्छ । समस्यामा परेका ती १८ जना करिब १ वर्षअगाडि देखि बिना भिसा अवैधानिक तरिकाले बस्न बाध्य भएका थिए । यसरी लामो समय बिना भिसा युएईमै बस्दा समस्या उत्पन्न भएपछि ती युवाहरु दूतावासमा सामुहिक रूपमा आएका थिए ।

समस्यामा परेका केही नेपाली कामदारहरुको रोकिएको तलब र भत्ता समेत उपलब्ध गराइएको राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिए । सम्बन्धित कम्पनीलाई दूतावासले निरन्तर फलोअप गरेपछि कामदारहरु आफ्नो अधिकार पाउन सफल भएका हुन् ।
पीडित सबैलाई सम्बन्धित कम्पनीले रोकिएको तलब, ग्याजुएटी लगायत हवाई टिकट उपलब्ध गराएर नेपाल पठाएको राजदूत ढकालले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्