दमक, असार ५ । कोरोना संक्रमण दर दैनिक रुपमा क्रमशः घट्न थालेपछि अस्पतालहरुमा बिरामीको चाप पनि घट्न थालेको छ ।

उपचाररत बिरामीहरु डिस्चार्ज भएको र नयाँ बिरामी आउन छाडेपछि दमकको एड्भान्स अस्पतालको कोभिड युनिटमा अहिले बिरामीको सँख्या सुन्य छ । कोरोना संक्रमण दर उच्च बन्दै बिरामीले उपचार नै नपाउने अवस्था बनेपछि गत बैशाख २२ गतेबाट सुरु भएको एड्भान्सको कोभिड युनिट अहिले बन्द गरिएको छ ।
उपचाररत बिरामी डिस्चार्ज भएको र नयाँ आउन छाडेपछि कोभिड युनिट बन्द गर्नु परेको अस्पतालका सञ्चालक चैतन्य बरालले जानकारी दिए । ३ वटा भेन्टिलेटरसहित २३ बेडसहितको कोभिड युनिटलाई बिरामी आउन छाडेपछि हाललाई बन्द गरिएको उनले बताए । शुक्रबारबाट अस्पतालको ईमर्जेन्सीबाहेक सम्पूर्ण सेवा बन्द गरिएको उनले बताए । कोभिड युनिट बन्द गरी पुरै अस्पताललाई निर्मलीकरण गर्नुपर्ने भएकोले ईमर्जेन्सीबाहेकका सेवा बन्द गरिएको सञ्चालक बरालले जानकारी दिए ।
अहिले अस्पतालको सबै क्षेत्रलाई सेनिटाईज गरी बन्द गरिएको र आइतबारबाट नियमित सेवा सुरु हुने अस्पतालका अध्यक्ष माधव पराजुलीले जानकारी दिए । कोरोनाका बिरामी आउने क्रम रोकिएकोले आइतबारबाट अस्पतालको अन्य नियमित सेवा सुचारु हुने उनले बताए । आगामी दिनमा संक्रमण दर बढेर बिरामी आउन थाले पुनः कोभिड युनिट सञ्चालन गरिने भन्दै उनले हाललाई भने बिरामी आउन छाडेकोले नै सेवा बन्द गर्नु परेको बताए ।
कोभिड युनिट सञ्चालन अवधिमा जम्मा १२२ जना बिरामीलाई सेवा दिईएको अस्पतालका कोभिड युुनिट ईन्चार्ज डा. अनिल थापाले जानकारी दिए । ४ जना बिशेषज्ञ चिकित्सकसहित ३० जना कर्मचारीहरु परिचालित भएर बिरामीको सेवा दिएको भन्दै डा. थापाले बिरामीको सेवा गर्ने क्रममा डाक्टर र कर्मचारीसहित ६ जना संक्रमित बन्न पुगेको पनि जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्