बिर्तामोड , असार ५ । झापामा कोरोना संक्रमणबाट हुने मृत्युदर अझै घट्न सकेको छैन । प्रत्येक दिन ४ देखि ६ जनाको दरले औसत मृत्यु हुने गरेको पाइएको छ ।

संक्रमण दर केही घटेपनि मृत्युदर भने यथावत नै रहेको हो । पछिल्लो २४ घण्टाभित्र झापाका ६ जनाको संक्रमणबाट ज्यान गएको छ । कनकाईका २ तथा बाह्रदशी , दमक , कमल र बिर्तामोडका एक–एक गरी ६ जनाको मृत्यु भएको हो । कनकाई ३ की ६२ वर्षिया बृद्धाको बिर्तासिटी हस्पिटलमा मृत्यु भएको छ भने कनकाई ५ का ९१ वर्षिय बृद्धको मेची अस्पतालमा मृत्यु भएको छ । त्यस्तै दमकको आम्दा अस्पतालमा दमक ७ का ४२ वर्षिय पुरुष र कमल ३ का ७४ वर्षिया बृद्धाको मृत्यु भएको छ । त्यस्तै बिर्तामोड १० का ८४ वर्षिय बृद्धको बिर्तासिटी हस्पिटल र बाह्रदशी ५ की ७६ वर्षिया बृद्धाको होम आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या झापामा ३२४ पुगेको छ । पछिल्लो चौबीस घण्टामा झापाका १०९ जना संक्रमित हुँदा १८९ जना निको भएर घर फर्किएका छन् । संक्रमित हुने १०९ जनामध्ये ५५ महिला रहेका छन् । संक्रमितमध्ये सबैभन्दा बढी दमकका ४९ जना रहेका छन् । योसँगै झापाका कुल संक्रमितको संख्या १४ हजार ६१५ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्