अर्जुनधारा , असार ७ । पोखरीमा माछा मार्ने क्रममा डुबेर अर्जुनधारामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ११ निवासी ४० वर्षीय माइकल सोरेन रहेका छन् ।

सोरेन अर्जुनधारा नगरपालिकाका मेयर हरि रानामगरको घरमा काम गर्थें। उनी हिजो बेलुका ५.४० बजे मेयरको घरनजिकै रहेको माछा पोखरीमा माछा मार्न गएका थिए । माछा मार्ने क्रममा पोखरीमा डुबेर उनी बेपत्ता भएका थिए । बेपत्ता भएका उनको खोजीका लागि ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा ६ जना, चारआली ब्यारेकबाट क्याप्टेन प्रशान्त केसीको कमाण्डमा १८ जना, १ नं. प्रदेश बिपत ब्यवस्थापन कार्यालय चन्द्रगढीबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ११ जना र प्रहरी चौकी शनिश्चरेबाट प्रहरी नायव निरीक्षकको टोलि खटी गई स्थानियको सहयोगमा खोजी गर्दा फेला नपरेपछि राति ११.४५ बजे सबै टोली फिर्ता भएको थियो । फेरि आज बिहान ६ बजेबाट ईप्रका बिर्तामोडबाट प्रनाउको कमाण्डमा ९ जना, नेपाली सेनाको चारआली ब्यारेकबाट क्याप्टेन प्रशान्त केसीको कमाण्डमा १८ जना, १ नं. प्रदेश बिपत ब्यवस्थापन कार्यालय चन्द्रगढीबाट प्रहरी सहायक निरीक्षक अर्जुन मगरको कमाण्डमा १८ जना , सशस्त्र प्रहरी बल सुरक्षा बेस शनिश्चरेबाट ७ जना र प्रहरी चौकी शनिश्चरेबाट ५ जनाको टोली खटिएर खोजी गर्ने क्रममा बिहान १०.५ बजे लाश फेला पारी पोखरीबाट बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।