भद्रपुर , असार ७ । भद्रपुर नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी देखिएको छ ।

स्थानीय तहहरुले प्रधानमन्त्री रोजगार कार्यक्रम अनुत्पादक भएको आरोप खेपिरहेका बेला भद्रपुरमा भने यस कार्यक्रमअन्तर्गतका श्रमिकलाई वडा कार्यालयहरुसँगको समन्वयमा नगरपालिकाका ठोस योजनामा परिचालन गरिएको हो ।
नगरपालिकाले चालु आर्थिक वर्षमा दर्जनौं सडक निर्माण तथा स्तरोन्नतिमा श्रमिकहरुलाई परिचालन गरेको छ भने वडा नं २ मा नगरपालिकाको स्वामित्वमा रहेको बाईस कट्ठा जग्गामा बृहत कृषि परियोजना सञ्चालन गर्ने उद्देश्यले उक्त जमिनलाई व्यवस्थित गर्न श्रमिकहरु परिचालन भएका छन् । वर्षौंदेखि उपयोगविहीन रहेको सो जमिनमा यतिखेर खनजोत गरेर कृषि प्रयोजनका लागि उपयुक्त बनाइएको छ भने हाल प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिकलाई कंक्रिट घेराबारा र टनेल निर्माणमा खटाइएको कार्यक्रम संयोजक टिकाराम पाण्डेले बताए । उक्त जमिन भद्रपुर नगरपालिका वडा नं १ र २ को सिमानामा पर्छ ।
सो जमिनमा व्यावसायिक तरकारी खेती तथा फलफूल खेती गरिने बताइएको छ । परियोजनामार्फत अहिले परिचालन गरिएका श्रमिकलाई नै स्वरोजगार बनाउने योजना रहेको छ । भविष्यमा कृषिको अध्ययन केन्द्रसमेत सञ्चालन गर्ने गरी विकास गर्न लागिएको सो कृषि पाठशाला कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमकै १५ जनालाई सहभागी गराइने छ । उनीहरुले उत्पादन गरेका तरकारी तथा फलफूलको बजारीकरणका लागि नगरपालिकाले सहयोग गर्ने नगरप्रमुख जीवनकुमार श्रेष्ठले बताए ।
आफ्नो वडामा विगतमा उपभोक्ता समितिमार्फत गरिँदै आएका विकास निर्माणका काममा यस वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिकलाई परिचालन गरिएको र लगानीको दृष्टिकोणले पनि कम बजेटमा गुणस्तरीय काम भएको बताउँदै वडा नं १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीले श्रमिकहरुलाई सही ढंगले परिचालन गर्न सक्दा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट उल्लेख्य उपलब्धि हासिल गर्न सकिने बताए ।
भद्रपुरमा यस वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १८४ जनाले सय दिनको रोजगारी पाएका छन् । एक श्रमिकले एक दिनको ५१७ रुपैयाँ ज्याला पाउँछन् ।
कार्यक्रम उपलब्धिमूलक देखिएपछि यो कार्यक्रमलाई थप व्यवस्थित र नगरभित्र थप रोजगार सिर्जना गर्न आव ०७८ ०७९ का लागि भद्रपुर नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समेट्दै आफ्नै स्रोतबाट पनि बजेट विनियोजन गरी नगरसभामा पेश गर्न लागेको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।