झापा , असार ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुद्दामामिला, झुठा आरोप र अनेकौं आक्रमण झेलेर पनि देशलाई विकास र सुशासनतर्फ अघि बढाइरहेको बताएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटरबाटै गौरादह नगरपालिका वडा न. ६ स्थित डोरामारी मावि विद्यालय भवनको भर्चुअल शिलान्यासपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । विगत ३० वर्षमा नभएका परिमाणमा पछिल्ला तीन वर्षमा देशभरि भएको दावी गर्दै प्रधानमन्त्रीले काम गर्ने भिजन र अठोट भएको सरकार हुनु र नहुनुमा कति अन्तर हुन्छ भन्ने कुरा यसले स्पष्ट गरेको उल्लेख गरे ।
‘जम्मा दुई वर्ष मात्र राम्ररी काम गर्ने वातावरण पाइयो, त्यसपछि डेढ वर्ष त कोभिडसँग लडेर र
कहिले के नाममा कहिले के नाममा आफ्नै पार्टीबाट समेत भाँजो हाल्ने प्रयाससँग लड्नु पर्यो’ उनले भने । अहिले पनि देशलाई ताजा जनादेशतिर जान नदिने चौतर्फी प्रयास भइरहेको भनाई उनको थियो । ‘न भएको सरकारलाई काम गर्न दिने न त वैकल्पिक सरकार नै दिने यस्तो अवस्थाबाट पार पाउनका लागि जनतामा जान सरकार कृतसंकल्पित छ’, उनले भने ।
भवन शिलान्यासबाट डोरामारीका जनताको भौतिक सुविधासम्पन्न आधुनिक भवनमा शिक्षा लिने आकांक्षाले मूर्त रुप पाउन आँटेको धारणा उनको थियो ।
आफूले चुनावकै बेलामा पनि जनताको यस्तो आकांक्षा बुझेको र अहिले सोचेभन्दा राम्रो भवन डोरामारी माविलाई उपलब्ध हुने अवस्था बन्नु खुशीको विषय भएको धारणा पनि उनको थियो ।
यसका साथै अहिले दमक औद्योगिक पार्कको निर्माणबारे लगानी बोर्डमा छलफल भइरहेको तथा हुलाकी राजमार्ग र मदन भण्डारी राजमार्गबारे असाधारण काम भएको उनले दावी गरे ।
‘तर देशलाई अघि बढ्न नदिने र विकास गर्ने सरकारलाई ढालेर छोड्ने विभिन्न रंगका तत्वहरु कृयाशील छन् । आफ्नै पार्टीको सरकार ढालेर अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन खोज्नेसम्मको निर्लज्ज तत्वहरु मेरै पार्टीमा देखा परे’ उनले भने ।
अहिले आफ्ना प्रतिद्वन्द्वीहरुले आफ्नो व्यक्तिगत नभई लोकतान्त्रिक अभ्यासको विरोध गरेको र अनैतिक समाज निर्माण गर्ने प्रयास भएको पनि प्रधानमन्त्रीले बताए ।
सामाजिक सञ्जालमा प्रयुक्त भाषाले हाम्रो गौरपूर्ण भाषालाई अधोपतनतर्फ लगिँदै गरिएको पुष्टी गर्ने समेत उनले उल्लेख गरे । सम्बोधनमा प्रधानमन्त्री ओलीले विद्यालय भवन निर्धारित समयमै एवं गुणस्तरमा सम्झौता नगरी सम्पन्न हुने विश्वास व्यक्त गरे ।