भद्रपुर, असार ८ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मेडिकल एशोसिएसन नेपालको सहकार्यमा झापाका १२ वटा स्वास्थ्य केन्द्रलाई एक– एक थान अक्सिजन कन्सन्टेटरसहित पिपिइ सेट उपलब्ध गराएका छन् ।

कोरोना महामारीका कारण विपन्न नागरिकले अक्सिजन अभावमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्य राखेर नेता सिटौलाले मेडिकल एशोसिएसनसँग पहल गरेर झापाका स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्टेटरसहित पिपिइ सेट उपलब्ध गराएका हुन् ।
स्वास्थ्य कार्यालय झापामा एक कार्यक्रम गर्दै नेता सिटौलाले झापाका स्वास्थ्य केन्द्रका लागि ल्याइएका स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालय प्रमुख ईश्वरीप्रसाद पौडेललाई हस्तान्तरण गरेका थिए । आजै ती सामग्री प्रमुख पौडेलले सम्बन्धित स्वास्थ्य केन्द्रहरूलाई हस्तान्तरण गरेका छन् ।
एक एक थान अक्सिजन कन्सन्टेटर मेसिनसहित पिपिइ सेट सहयोग पाउने स्वास्थ्य केन्द्रहरूमा कचनकवलको बनियानी प्राथमिक स्वास्थ्य केन्द्र, भद्रपुरको पृथ्वीनगर स्वास्थ्य चौकी, महेशपुर स्वास्थ्यचौकी, चन्द्रगढी स्वास्थ्य चौकी छन् । त्यसैगरी हल्दिवारीको जलथल स्वास्थ्य चौकी, बाह्रदशीको राजगढ स्वास्थ्य चौकी, झापाको कुमरखोद स्वास्थ्य चौकी, अर्जुनधाराको अर्जुनधारा प्राथमिक स्वास्थ्य केन्द्र, बिर्तामोडको अनारमनी नगर अस्पताल, गौरादहको गौरादह स्वास्थ्य चौकी, बुद्धशान्तिको बुधवारे महिला सामुदायिक अस्पताल र शिवसतासीको शिवगञ्ज स्वास्थ्य चौकी रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वीप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्बोधन गर्दै नेता सिटौलाले सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रहरूको स्तरीकरण गर्न जरूरी रहेको बताए । उनले विपन्नको ज्यान बचाउन सरकारी स्वास्थ्य संस्थाहरू स्तरीय हुन आवश्यक रहेको भन्दै अस्पतालको मुख नदेखी मर्नु पर्ने बाध्यता हटाउन सवै एकजुट हुन आग्रह समेत गरे ।
कार्यक्रममा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले नेता सिटौलाको पहलका कारण प्राप्त भएका स्वास्थ्य सामग्रीले नगरबासीको जीवन बचाउन सहयोग पुग्ने धारणा राख्दै आगामी दिनमा अन्य सहयोग जुट्ने आशा गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्