भद्रपुर, असार ९ । मानव सेवाको लक्ष्य राखेर भद्रपुर जेसीजले एक संक्रमित एक दाता अभियान सुरू गरेको छ ।

भद्रपुर जेसीजले नगरक्षेत्रमा कोरोनाका सक्रिय संक्रमित तथा विपन्न परिवारका विरामीलाई १ हजार १११ रूपैयाँ बराबरको पौष्टिक खाद्य वस्तु वितरण गर्न दाता अभियान सुरू गरेको हो ।
यस अभियानमा सेनिटाईजर,साबुन, मास्क, भिटामिन सी, भिटामिन डी, जिङ्क चक्की, हर्लिक्स, च्यवनप्रासलगायतका खाद्य पदार्थ एवम् पोषण खानेकुरा वितरण गर्ने गरिएको छ ।
भद्रपुर जेसीजका अध्यक्ष खिलनाथ पाण्डे निकासका अनुसार भद्रपुर नगरपलिका क्षेत्रबाट पहिलो चरणमा ६०० जनालाई वितरण गरिने लक्ष्य छ । १५१ जनालाई वितरण गरिसकेको जेसीजले कोभिडका विरामी पहिचान तथा सहयोग समेतलाई तीव्रता दिइरहेको छ । यस अभियानमा करिव दुई लाख बरावरको पोषण खाना वितरण गरिसकेको जेसीजले सात लाख मूल्य वरावरको पोषण खानेकुरा वितरणकोे योजना राखेको जनाइएको छ ।
भद्रपुर नगरपालिकाका १० वटै वडाहरुमा वितरण गरिने अभियानअन्तर्गत प्रथम चरणमा वडा नं ४,७, ९ र १० मा वितरण गरिसकेको महासचिव मनोज भट्टराईको भनाइ छ । उनले अभियान सफल बनाउन सहयोग गर्न सवै पक्षसंग अपिल पनि गरेका छन् ।