झापा, असार १० ।नेपाली कांग्रेसका नेता राम कट्टेलले पार्टीको झापा जिल्ला सभापतिमा उठ्ने घोषणा गरेका छन् ।

जिल्ला उपसभापति कट्टेलले सामाजिक संजालमार्फत जिल्ला सभापतिमा उठ्ने आकांक्षा व्यक्त गरेका हुन् । उनले फेसबुकमा लेखेका छन् ‘झापा जिल्लाको गौरवपूर्ण गरिमा र छविलाई अझ उच्च , उज्वल र लोकप्रिय बनाउने उद्धेश्यका साथ जिल्ला सभापतिको उम्मेद्वारको रूपमा उठने निर्णय गरेको छु , जिल्ला उपसभापतिको पदमा रहेर काम गर्दै आउँदा स्वाभाविक जिल्ला सभापतिमा उठनु पर्छ भन्ने सबैको शुभभावना , सुझाव र सल्लाहलाई सहज रूपमा स्वीकार गर्दै नेकाको चौधौ महाधिवेशनबाट थप जिम्मेवारी बहन गर्न चाहेको हुँ, आदरणीय अग्रज नेता ज्यूहरू , आदरणीय तथा प्रिय साथीहरू सबैबाट साथ सहयोग र समर्थन यसरी नै पाईरहने पूर्ण बिश्वासमा छु , जय नेपाल !’ मेचीनगर निवासी कट्टेलले २०४८ सालदेखि सक्रिय रुपमा कांग्रेसको राजनीति गर्दै आएका छन् । यसअघि नेपाली कांग्रेसको जिल्ला कोषाध्यक्ष रहेका उनी हाल जिल्ला उपसभापति पदमा रहेका छन् । त्यस्तै तीन पटक महासमिति सदस्य ,दुई पटक १ नं क्षेत्रीय सभापति र तीन पटक पार्टीको धुलाबारी सभापति भएर उनले जिम्मेवारी निर्वाह गरेका थिए । त्यस्तै उनी विभिन्न सामाजिक संघसंस्थामा सक्रिय रुपमा क्रियाशील छन् । मेची अंचल अस्पताल व्यवस्थापन समितिको अध्यक्ष रहेका कट्टेल धुलाबारी खानेपानी आयोजनाको संस्थापक अध्यक्ष , धुलाबारी क्याम्पसको उपाध्यक्ष रहेका थिए । उनीसँग २०४९ सालदेखि धुलाबारी गाविसको अध्यक्ष सम्हालेको अनुभव पनि छ । ‘ मैले स्वविवेकले जिल्ला सभापतिमा उठ्ने घोषणा गरेको हुँ ’उनले प्रतिदिनसँग भने ,‘मलाई सबैले सहयोग गर्नु हुनेछ भन्ने बिश्वास छ ।’ कांग्रेसको चौधौ महाधिवेशनअन्तर्गत आगामी साउन १२ गतेदेखि गाउँ–नगर अधिवेशन हुने भएको छ । साउनको अन्तिम साता जिल्ला अधिवेशन हुने देखिन्छ । कांग्रेसको जिल्ला सभापतिमा धेरै आकाक्षी देखिएका छन् ।
सफ्ट शालिन भद्र बौद्धिक ब्यक्तित्व कट्टेलजी।शुभकामना