बिर्तामोड ,असार १० । निषेधाज्ञाको समयमा अपारदर्शी र प्रक्रिया नपुर्याई ठेक्का लगाएको भन्दै त्यस्तो ठेक्का खारेज गर्नुपर्ने मागसहित स्थानीय आन्दोलित भएपछि छानबिनका लागि बिर्तामोड नगरपालिकाले कार्यदल बनाएको छ ।
बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख पवित्रा महतारा प्रसाईको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको हो । जसको सदस्यहरुमा वडा नं २ का वडाध्यक्ष नगेन्द्र संग्रौला र वडा नं ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला रहेका छन् । हिजो दिउँसो बसेको नगर प्रमुख धु्रवकुमार शिवाकोटीसहित आम जनप्रतिनिधिहरुको भेलाले स्थानीय स्तरबाट विरोध आएको ठेक्काको छानबिन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको थियो । कार्यदलले दुई साताभित्र प्रतिवेदन बुझाउने छ । निषेधाज्ञाको समयमा अपारदर्शी र प्रक्रिया नपुर्याई ठेक्का लगाइएका स्वास्थ्य बिमा र फोहोर मैला व्यवस्थापनको टेन्डर खारेज गरिनुपर्नेे मागसहित स्थानीय आन्दोलित छन् । विज्ञको सहायताले ठेक्का प्रक्रिया नियमसंगत भए–नभएको छानबिन गरिने कार्यदलका सदस्य वडा नं २ का वडाध्यक्ष नगेन्द्र संग्रौलाले बताए । ‘टेन्डरमा हिनामिना गरेको छ कि छैन हामी त्यो खोज्छौं’ उनले भने ,‘टेन्डर हाल्दा रकम तलमाथि भएको पाइएमा टेन्डर खारेज गर्न सिफारिस गर्छौ ।’ बिर्तामोड नगरपालिकाको सातौं नगरपरिषद आजबाट शुरु हुँदैछ । नगरपरिषदको अघिल्लो दिन हिजो पत्रकार सम्मेलन गर्दै स्थानीय जागरुक युवाहरुले नगरपरिषदमा आफ्ना माग प्रस्तुत गर्ने जनाउँदै ती माग संबोधन नभए परिषद चल्न नदिने बताएका थिए । उनीहरुले स्वास्थ्य बिमा र फोहोर मैला व्यवस्थापनको टेन्डर खारेज हुनुपर्ने , सार्वजनिक सरोकार र महत्वका हरेक सूचनाको जानकारी सम्पूर्ण वडा कार्यालय ,संचारमाध्यमलाई गराउनुपर्ने ,नगरपालिकाका प्रत्येक सूचना नगरपालिका र वडा कार्यालयको सूचना पाटीमा अनिवार्य राख्नुपर्ने ,नगरपालिकाले प्रकाशन र प्रसारण गर्ने सार्वजनिक महत्वका सम्पूर्ण सूचनाहरु स्थानीय संचारमाध्यममा समेत प्रकाशन र प्रसारण गरिनुपर्ने लगायतका सूचना अधिकारका कुराहरु उठाएका छन् ।