बिर्तामोड ,असार १० । निषेधाज्ञाको समयमा बिर्तामोड नगरपालिकाले अपारदर्शी र प्रक्रिया नपुर्याई ठेक्का लगाएको भन्दै त्यस्ता ठेक्का खारेज गर्न स्थानीय जागरुक युवाहरुले आज विरोध प्रदर्शनसहित चर्को दवाव दिएका छन् ।

आफ्ना माग संबोधन नभए नगरसभा चल्न नदिनेगरी आन्दोलित भएका युवाहरुले नगरपालिका कार्यालयमा गएर जनप्रतिनिधि र कर्मचारीहरुलाई त्यस्तो दवाव दिएका हुन् । प्रदेश सांसद एकराज कार्की ,नगर प्रमुख धु्रवकुमार शिवाकोटी , उप प्रमुख पवित्रा महतारा प्रसाई , प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालसँग त्यस्ता ठेक्का तत्काल खारेज गर्न उनीहरुले सामूहिक माग गरेका थिए । निषेधाज्ञाको समयमा ठेक्का लगाइएका स्वास्थ्य बिमा र फोहोर मैला व्यवस्थापनको टेन्डर खारेज गरिनुपर्ने उनीहरुको माग हो । विगत २० दिनदेखि त्यस मागलाई लिएर उनीहरु आन्दोलित छन् । नगरपालिकाले वास्ता नगरेपछि आजको सातौं नगरसभामै माग पेश गर्ने र संबोधन नभए नगरसभा चल्न नदिने उनीहरुको विरोध कार्यक्रम रहेको थियो । त्यसको जानकारी पाएर नगरपालिका परिसरमा बिहानैदेखि करीव सयजनाको सँख्यामा जनपद , सशस्त्र र नगर प्रहरी तैनाथ गरिएका थिए ।नारा जुलुस गर्दै युवाहरु नगरपालिका प्रवेश गर्न खोज्दा गेटमा सुरक्षाकर्मीहरुले रोकेका थिए ।युवाहरु नगरपालिका कार्यालयभित्र छिर्न खोज्ने र सुरक्षाकर्मीहरुले नदिने क्रम बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म चल्यो । हातमा कालो पट्टि बाँधेका युवाहरुले ‘नियोजित टेन्डर बहिष्कार गर, सूचना हाम्रो अधिकार नियोजित टेन्डर खारेज गर , नेतालाई बाल, जनताको आफ्नै ताल , हेर देशको बेहाल , उठ युवा’ जस्ता प्लेकार्डसहित नगर प्रमुख शिवाकोटी , प्रमुख प्रशासकीय अधिकृत दाहाल , बरिष्ठ कार्यक्रम अधिकृत देवराज कार्कीविरुद्ध मुर्दावादका नारा लगाएका थिए । लगातार र चर्को नारावाजीका बीच युवाहरुले बल प्रयोग गरी नगरपालिकामा प्रवेश गर्न खोजेपछि अन्ततःप्रतिनिधिमूलक रुपमा वार्ताका लागि प्रहरीले भित्र प्रवेश गर्न दिएको थियो । कपिल न्यौपानेको अगुवाईमा वार्ताका लागि गएका युवाहरुले नगर प्रमुखको कार्यकक्षमा निकै चर्काचर्की गरेका थिए ।

दुवै टेन्डरको छानबिन गर्न कार्यदल गठन भइसकेको भन्दै जिम्मेवार प्रमुखहरुले भ्रष्टाचार , अनियमितता भएको भए छानबिन गरेर टेन्डर खारेज गर्ने र दोषी कर्मचारीलाई कार्वाहीसमेत गर्ने प्रतिबद्धता जनाएका छन् । प्रदेश सांसद कार्कीले छानबिनको लागि कार्यदल बनिसकेकाले प्रक्रियासंगत नभए टेन्डर खारेज हुने आश्वस्त पारेका थिए । छलफलमा नगरपालिकाले गठन गरेको कार्यदलमा आन्दोलित युवाहरुका तर्फबाट दुईजनालाई समावेश गर्ने मौखिक सहमति भएको छ । आन्दोलित युवाहरुले सार्वजनिक सरोकार र महत्वका हरेक सूचनाको जानकारी सम्पूर्ण सामाजिक संजाल , सूचना पाटी , स्थानीय संचारमाध्यममार्फत गराउनुपर्ने माग पनि राखेका थिए ।
हिजो मात्र नगरपालिकाले कार्यदल बनाएको हो । स्थानीय युवाहरु आन्दोलित भएपछि छानबिनका लागि बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख प्रसाईको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको हो । जसको सदस्यहरुमा वडा नं २ का वडाध्यक्ष नगेन्द्र संग्रौला र वडा नं ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला रहेका छन् । हिजो साँझ बसेको नगरकार्यपालिकाको बैठकले स्थानीय स्तरबाट विरोध आएको ठेक्काको छानबिन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको थियो । कार्यदलले एक साताभित्र प्रतिवेदन बुझाउने छ । विज्ञको सहायताले ठेक्का प्रक्रिया नियमसंगत भए–नभएको छानबिन गरिने कार्यदलका सदस्य वडा नं २ का वडाध्यक्ष नगेन्द्र संग्रौलाले बताए । ‘टेन्डरमा हिनामिना भएको छ कि छैन हामी त्यो खोज्छौं’ उनले भने ,‘टेन्डर हाल्दा रकम तलमाथि भएको पाइएमा टेन्डर खारेज गर्न सिफारिस गर्छौ ।’ लामो समयसम्म नगर प्रमुखको कार्यकक्षमा चर्काचर्की परेपछि दिउँसो १ बजे शुरु हुने भनिएको सातौं नगरसभा दिउँसो २ बजेपछि मात्र संचालन भएको थियो ।
बिर्तामोड नगर अस्पतालमा बिमा बापतको औषधी पसलका लागि कालि माँ फार्मेसीलाई टेण्डर पारेपछि विवाद आएको हो । त्यसपछि बिर्तामोड नगरपालिकाको फोहोर ब्यवस्थापनको जिम्मा काठमाडौमा रहेको निराकार सरसफाई सेवा प्रा.लिलाई दिएपछि युवाहरु झनै आन्दोलित भएका हुन् । ‘ ती दुवै टेन्डर खारेज नभएसम्म हाम्रो आन्दोलन जारी छ ’स्थानीय युवा दिवाकर प्रसाईले भने ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्