झापा , असार १० । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८–७९को लागि कुल १ अर्व ३० करोड ७७ लाख ७९ हजार ५ सय रुपैँयाको बजेट प्रस्ताव गरेको छ ।

बिहीबार आयोजित सातौँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर उपप्रमुख पवित्रा महतारा प्रसाईले उक्त बजेट प्रस्ताव गरेकी हुन् ।उक्त बजेट चालु आर्थिक वर्षको प्रस्तावित बजेटको १३.६७ प्रतिशत र संशोधित बजेटको २.९० प्रतिशतले बृद्वि हुने जनाइएको छ ।
बजेटमा आन्तरिक श्रोतबाट १५ करोड,घर जग्गा रजिष्ट्रेसन बाँडफाँडबाट १० करोड,लागत सहभागिता १ करोड,संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण २२ करोड ४९ लाख,राजश्व बाँडफाँड ११ करोड ९ लाख ४६ हजार,सशर्त अनुदान४२ करोड ८४ लाख,विशेष अनुदान १ करोड ९९लाख,समपुरक अनुदान २ करोड ८५ लाख तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण १ करोड ३३ लाख७२ हजार,सशर्त अनुदान ५० हजार,राजश्व बाँडफाँड १ करोड १७ लाख ११ हजार ५ सय,समपुरक अनुदान १ करोड र सामाजिक सुरक्षा २० करोड गरी कुल १ अर्व ३० करोड ७७ लाख ७९ हजार ५ सय रुपैयाँको स्रोतगत अनुमान गरिएको हो ।
नगरपालिकाले चालु खर्च ४४ करोड ३५ लाख १४ हजार र पुँजीगत खर्च ६६ करोड ४२ लाख ६५ हजार ५ सय तथा सामाजिक सुरक्षा वापत २० करोड गरी कुल १ अर्व ३० करोड ७७ लाख ७९ हजार ५ सयको व्यय हुने अनुमान गरेको छ ।प्रस्तावित बजेटमा पूर्वाधार विकासको क्षेत्रमा ५६ करोड १४ लाख ५० हजार,आर्थिक विकासमा २८ करोड २७ लाख,सामाजिक विकासमा ३८ करोड २ लाख १४ हजार ५ सय,वातावरण तथा विपद व्यवस्थापनमा ७५ लाख ५० हजार र सार्वजनिक सेवा तथा क्षमता विकास (प्रशासनिक र चालु खर्च समेत) ३२ करोड ९८ लाख १५ हजार बजेट विनियोजन गरिएको छ ।
विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड–१९को कारणबाट आन्तरिक स्रोत संकलनमा कठिनाई उत्पन्न भएको भन्दै उपप्रमुख प्रसाईले मालपोत रजिष्ट्रेसन शुल्क,घर बहाल कर,सम्पति कर,नक्सा पास दस्तुर,तथा व्यवसाय कर प्रस्तावित भन्दा करिब २० प्रतिशत भन्दा कम संकलन भएको बताइन् ।
नगर प्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षता तथा प्रदेश १ सभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा नगरसभा सुरु भएको हो ।नगरसभाको अर्को बैठक असार २० गते बस्ने जनाइएको छ ।