झापा , असार १२ । सप्तरीमा आज भएको सडक दुर्घटनामा दुई बालिकाको ज्यान गएको छ ।

दिउँसो २ बजेतिर पूर्वपश्चिम राजमार्गअन्तरगत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका २ सीतापुर खण्डमा ना ७ प ५४९५ नम्बरको ट्याङकरले स २ प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी बसेकी रुपनी गाउँपालिका ३ कटैयाकी ८ वर्षीया यशोधाकुमारी प्रमाणीको घटनास्थलमै मृत्यु भएको हो ।
ठक्करबाट मृतक बालिकाकी आमा सुमनीदेवी र मामा कुसुमलाल घाइते भएका छन् । ठक्कर दिएर भागेको सोही ट्याङकरले दुई किलोमिटर अगाडी चाँदनी चौकमा स११प २५८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी सवार कंचनरुप नगरपालिका ६ की ७ बर्षिया सुमैया प्रविणको पनि घटनास्थलमै मृत्यु भएको छ ।
घाइतेहरुको स्थानीय ठेलिया र युनिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ठक्कर दिने ट्याङकर नियन्त्रणमा लिइए पनि चालक भने फरार भएकाले खोजी भइरहेको प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए ।

पहिलो घटनामा ठक्कर दिएर भाग्न खोज्दा चालकले नियन्त्रण गुमाएको र गाडी अनियन्त्रित भएपछि दोश्रो घटना हुन गएको प्रहरीको भनाई छ । घटनापछि आक्रोशित स्थानीयवासीले क्षतिपूर्ति र फरार चालकलाई अविलम्ब पक्राउ गरी कडा कारवाहीको माग गर्दै राजमार्ग अवरुद्ध पारेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्