झापा , असार १३ । बेलायतमा फेरि कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ ।

गएको २४ घण्टामा १८ हजार २ सय ७० जनामा संक्रमण भएको पाइएको छ । यो गएको फेब्रुअरी ५ पछिकै दैनिक भेटिने संक्रमितको सँख्याभन्दा सबैभन्दा धेरै हो । कोरोनाका कारण गएको २४ घण्टामा थप २४ जनाको ज्यान गएको छ ।
संक्रमणको सँख्या बढेसँगै बेलायतमा तेस्रो लहरको जोखिम बढेको छ । त्यहाँ एक महिनायता दैनिक संक्रमितको सँख्या बढ्दै गइरहेको बीबीसीले जनाएको छ । बेलायतमा पाइएको संक्रमणमध्ये ९० प्रतिशत डेल्टा भेरियन्ट रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
कोरोनाविरुद्धको खोपका कारण संक्रमितमा गम्भीर लक्षण भने देखिने समस्या घट्दै गएको छ ।
यसैबीच बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले पदबाट राजीनामा दिएका छन् । उनीमाथि कोरोना महामारीमा भौतिक दूरी कायम नगरेको भन्ने आरोप लागेको थियो । उनले राजीनामा दिँदै कोरोना नियन्त्रणका लागि भइरहेको नियम नमानेकोमा माफी मागेका छन् ।
सँगै काम गर्ने एकजना महिला कर्मचारीसँग दूरी कायम नगरेको भन्दै स्वास्थ्यमन्त्रीमाथि राजीनामा दिन दबाब परेको थियो । यस्तै, विवाद बढ्दै गएपछि ती महिलाले पनि राजीनामा दिएकी छिन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्