बिर्तामोड , असार १३ । नेपाली कांग्रेसको बिर्तामोड नगर सभापतिमा भोजराज सिटौला पुनः दोहोरिने संभावना देखिएको छ ।

१४ औं महाधिवेशन नजिकिएसंगै जिल्लादेखि गाउँ–वडासम्म उम्मेद्वारहरुको चर्चा चल्न थालेको छ । तर, बिर्तामोड नगर समितिमा हालका नगर सभापति सिटौलाको विकल्पमा अरु देखिएका छैनन् । त्यही भएर बिर्तामोड नगरपालिका वडा नं ३ का वडाध्यक्ष समेत रहेका सिटौला दोस्रो कार्यकालका लागि निर्वाचित हुने संभावना देखिएको हो । यद्यपि त्यसबारे उनको आधिकारिक धारणा आइसकेको छैन । नेपाली कांग्रेसमा दुई कार्यकालसम्म एउटा पदमा रहन पाउने प्रावधान छ । सिटौला १३ औं महाधिवेशनमा नगर सभापतिमा निर्वाचित भएका थिए । ‘म एकपटक नगर सभापति भएको हुँ ’उनले भने ,‘ पार्टीको विधानतः अर्को पटक उम्मेद्वार बन्न सक्छु ।’ आफ्नो उम्मेद्वारीबारे पार्टीमा छलफल भइरहेको उनले जानकारी दिए । त्यसो त बिर्तामोड नगर सभापतिमा उठ्न लक्ष्मी आचार्य , देवी गिरी , बलराम कार्कीलगायतले पनि इच्छा राखेको पाइएको छ । सिटौलालाई आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसले बिर्तामोड नगरपालिकाको मेयरको उम्मेद्वारको रुपमा अगाडि सार्ने संभावना पनि रहेको छ । १४ औं महाधिवेशनको कार्यतालिका अनुसार साउन १२ गते बिर्तामोड नगर अधिवेशन हुने भएको छ । बिर्तामोडमा कांग्रेसका करिव ४ हजार क्रियाशील सदस्य रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्