बिर्तामोड , असार १४ । बिर्तामोडमा श्रृंखलाबद्ध चोरीका घटनामा संलग्न एक गिरोह पक्राउ परेको छ ।

विभिन्न कम्पनीका ग्यास सिलिन्डर र टेलिभिजन चोरी गर्ने कार्यमा संलग्न चारजना र चोरीका सामान किन्ने चारजनालाई प्रहरीले पक्राउ गरेको हो । चोरी गरेको आरोपमा पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका वडा नं ७ बस्ने २४ वर्षिय जग्गु भन्ने दिपेश खवास, बिर्तामोड वडा नं ३ वस्ने २८ वर्षिय टेकन भण्डारी, सोही वडाका १८ वर्षिय विष्णु भण्डारी र एक जना नाबालक रहेका छन् । जसको नाम प्रहरीले खुलाएको छैन । त्यस्तै चोरीको सामान किन्दा पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका वडा नं ४ वस्ने २९ वर्षिय गोपाल चिमरिया , बिर्तामोड ३ बस्ने ३१ वर्षिय छोटु भन्ने मोहमद मिया , बिर्तामोड ४ सूर्योदय टोल बस्ने २८ वर्षिय विकी साह र सोही वडाका ४८ वर्षिय खगेन्द्र चापागाई रहेका छन् । चोरी भएका सामानसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरी अदालतबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गत जेठ २९ गते राति बिर्तामोड २ का गंगा उप्रेतीको घरबाट वान्सा कम्पनीको ३२ ईन्चको एउटा टि.भी. र कोशी कम्पनीको २ वटा ग्यास सिलिन्डर, असार ४ गते राति बिर्तामोड ४ का नारायण मुखियाको घरबाट सोनी कम्पनीको ३२ ईन्चको एउटा टि.भी, असार ९ गते राति बिर्तामोड ४ का राजन वास्केको कटेरोबाट पाथीभरा कम्पनीको एउटा ग्याँस सिलिन्डरलगायत सामानहरु घर फोरेर चोरी भएको थियो । प्रहरीले २ वटा टि.भी., २ वटा कोशी कम्पनीको ग्याँस सिलिन्डर र एउटा पाथिभरा कम्पनीको ग्याँस सिलिन्डर बरामद गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्