झापा , असार १५ । आज असार १५ । खेतमा धानको बीउ रोपेर धान दिवस मनाइँदैछ ।

जेठमा राखेको धानको बीउलाई असार लागेपछि रोप्न थालिन्छ । खाद्यवालीमा बर्ष बाली मानिने धान नेपालभरि नै लगाइन्छ । आज देशभर रोपाइँसहितका विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदैछ । नेपालमा वि.सं. २०६२ सालयता असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि संयुक्त राष्ट्रसंघले समेत सन् १९६६ लाई धानबाली बर्षका रूपमा मनाएको थियो ।

धान उत्पादनको हिसाबले झापालाई अन्नको भण्डार मानिन्छ ।यद्धपि जिल्लाबासीकै लागि बाहिरबाट खाद्यान्न आयात गर्नुपर्ने अबस्था छ । असार १५ गते दही चिउरा खाएर रोपाइँ थाल्ने चलन रहेको थियो । तर कतिपय किसानहरुले त्यसअघि नै रोपाइँ शुरु गरिसकेका छन् । झापामा असार १५ सम्म १७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भइसकेको छ । कतिपय किसानले जेठ अन्तिमदेखि नै रोपाइँ शुरु गरेका छन् । झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । मानो रोपेर मुरी फलाउने अवसरका रुपमा देशभरि रोपाइँ गरिंदैछ । आज खेतखेतमा रोपाइँको चटारो देखिन्छ भने रोपाइँ गरिसकेका किसानले खेतमा गएर दहि चिउरा खाने गर्दछन् । रोपाइँमा असारको फल मानिने आँप, कटहर सहित दहि र चिउरा खाइन्छ । यसरी रोपाइँसँगै दहि चिउरा खाने चलन रहेकोले आजको दिनलाई दही चिउरा खाने दिन पनि भनिन्छ । यसरी दहि चिउरा खाँदा शरीरलाई ऊर्जा प्राप्त हुन्छ । खेतिपातीको हिलोमैलोले शरीर थाक्ने हुँदा दही चिउराले शक्ति प्रदान गर्ने र बाँकी खेतीपाती पनि सजिलै सम्पन्न हुन्छ । दही चिउरा खाँदा गति परिने पनि विश्वास छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्