सुरेश आले “सर्जु” ,
बिर्तामोड, असार १५ । बाख्रापालनमा व्यावसायिक बनाउन बिर्तामोड नगरपालिका पशुपंछी तथा मत्स्य विकास शाखाले नगरभित्रका दुईवटा बाख्रापालक समूहलाई अनुदानको रकम र बाख्रा उपलब्ध गराउने भएको छ ।

यसरी अनुदानको रकम र बाख्रा पाउने समूहमा वडा नं.९ को बद्रीबाडी बाख्रापालक समूह र वडा नं.८ को नमूना बाख्रापालक समुह रहेका छन् ।
बद्रीबाडी बाख्रापलक समुह २०७७–०७८ को बाख्रा साटासाट कार्यक्रममा छनौट भएको हो । प्रतिसदस्य खोर सुधारतर्फ ३५ हजार , तीनवटा बाख्रा र समुहलाई एउटा बीउ बोयर बोका नगरबाट प्राप्त गर्नेगरी सहमति भएको समूहकी अध्यक्ष सावित्रा सिटौलाले बताईन् ।
उनका अनुसार नगर प्रमुख धु्रबकुमार शिवाकोटी र पशुपंछी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालसहितको टोली अनुगमनमा आएपछि मात्र कार्यक्रम स्वीकृत भएको हो । अब खोर निर्माण कार्य अन्तिम चरणमा पुगेको र सम्झौता बोमजिमको बाख्रा हस्तान्तरण कार्यक्रम मात्र बाँकी रहेको बताईन् । उनको समूहमा १५ सदस्यले यो सुविधा प्राप्त गरेका छन् ।
पशुपंछी विकास शाखाका नायब सुब्बा निमेष थापाले सोही बाख्रापालक समूहलाई माथिका सुविधा सँगसंगै बाख्रालाई चाहिने घाँसको बीउ पनि वितरण गरिएको बताए । सोही कार्यालयका अधिकृत बिष्णु भट्टराईले समूहगतरुपमा बाख्रापालन कार्यक्रमले एकआपसमा समेत सम्बन्ध सुधार हुने कुराको संकेत गरेको बताए ।
वडा कार्यालयको सिफारिसमा भएको यस कार्यक्रममा बाख्रा उत्पादनपछि बाख्रापालक सदस्यले तीनवटा बाख्राको बच्चा नगरलाई फिर्ता गर्नुपर्ने बद्रीबाडी कृषक समूहका कोषाध्यक्ष लिलकुमार निरौलाले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्