झापा ,असार १५ । प्रदेश १ सभाको चालू बजेट अधिवेशन पाँच दिनसम्मका लागि स्थगित भएको छ ।

रोस्ट्रमबाटै सांसदलाई गाली गर्ने मन्त्रीले माफी माग्नुपर्छ भन्दै विपक्षी दल माओवादी केन्द्रका सांसदले अवरोध जारी राखेपछि चालू बजेट अधिवेशन २० असारसम्मका लागि स्थगित भएको हो ।
सांसद मोहन खड्कालाई गाली गर्ने प्रदेश सरकारका भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले आत्मालोचनासहित माफी नमागेको भन्दै विपक्षी दल माओवादी केन्द्रले मंगलबार दिउँसो सुरु भएको बैठकमा अवरोध पु¥याए । बैठक सुचारु गराउन आग्रह गर्दा पनि माओवादी केन्द्रका सांसदले नमानेपछि सभामुख प्रदीपकुमार भण्डारीले २० असारसम्म जारी बजेट अधिवेशन स्थगित गराए । चालू बजेट अधिवेशनको छलफलको उत्तर दिने क्रममा आइतबार प्रदेश १ सरकारका भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले आफ्नै जिल्ला ओखलढुंगाका सांसद मोहनकुमार खड्कालाई रोस्ट्रमबाटै अमर्यादित शैलीमा गाली गरेकोले आत्मालोचनासहित माफी माग्नुपर्ने र उनले बोलेका कुराहरू रेकर्डबाट हटाउनुपर्ने माओवादी केन्द्रको माग छ । उनीहरूले १४ असारमा पनि अवरोध पु¥याएपछि संसद् बैठक स्थगित भएको थियो ।

प्रदेश १ सभामा आगामी वर्षका लागि १ असारमा सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकबारे मन्त्रालयगत छलफल सुरु भएको छ । मंगलबार सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित विनियोजनबारे छलफल हुने कार्यसूची थियो । बजेट छलफलका क्रममा ओखलढुंगाका सांसद मोहनकुमार खड्काले योजना बाँडफाँडमा विभेद गरेको र मुख्यमन्त्री र भौतिकमन्त्रीले मात्र आफ्नो निर्वाचन क्षेत्रमा सुटुक्क करोडौँका योजना पारेको भन्दै विरोध गरेका थिए ।
आइतबार मन्त्रालयसँग सम्बन्धित विषयको छलफलबारे उत्तर दिने क्रममा भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले सांसद खड्कालाई भिजन नभएको भन्दै सुध्रिएर आउन चेतावनी दिएका थिए । मन्त्रीले सांसदको नामै लिएर अमर्यादित शैलीमा गाली गरेपछि समाजवादी दलका सांसद जयराम यादवले नियमापत्ति गरेका थिए । त्यसपछि निरन्तर चारपटक रुलिङ गरेर मन्त्रीलाई आफ्नो भनाइ छोट्याउन लगाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्