दमक, असार १५ ।दमकमा मंगलबार ६ बर्षिय एक बालकसहित कूल ५८ जनामा कोरोना संक्रमण देखिएको छ ।

दमक अस्पताल मातहतको कोभिड विशेष उपचार केन्द्रमा सोमबार स्वाव संकलन गरिएका कूल १३१ जनामध्ये एक बालकसहित ५३ जनामा संक्रमण पुष्टि भएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य शाखाका अनुसार उनीहरुको स्वाव परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । स्वास्थ्य शाखाका कुबेर भट्टराईले ४० प्रतिशतभन्दा धेरैमा संक्रमण पुष्टि भएको बताउँदै यसले दमकमा कोरोनाको जोखिम कम हुन नसकेको पुष्टि गरेको बताए ।
त्यसैगरी मंगलबार नै दमक अस्पतालमा गरिएको एन्टिजेन परीक्षणका क्रममा ५ जनामा संक्रमण पुष्टि भएको छ । कूल २२ जनामा गरिएको परीक्षणका क्रममा ५ जनामा संक्रमण देखिएको हो । त्यसैगरी लाइफलाइन अस्पताल दमकमा एक जनामा संक्रमण देखिएको जनाइएको छ । दमकमा चिकित्सकहरुले सिफारिस गरेका तथा लक्षण चिन्ह देखिएकाहरुको पिसिआर तथा एन्टिजेन परीक्षण निशुल्क गरिँदै आएको जनाइएको छ । यसैबीच मंगलबार झापामा १४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणबाट दमकमा सुत्केरीको मृत्यु
कोरोना संक्रमणबाट दमकस्थित लाइफलाइन अस्पतालमा मंगलबार विहान एक जना सुत्केरी महिलाको मृत्यु भएको छ । इलाम चुलाचुली ५ की ३१ वर्षीया महिलाको उपचारका क्रममा ज्यान गएको अस्पतालले जनाएको छ ।
दमककै ओम मेची अस्पतालमा २५ दिन अघि बच्चा जन्माएकी उनीमा स्वास्थ्य समस्या भएपछि गत असार ३ गतेदेखि लाइफलाइन अस्पतालमा भर्ना गरिएको थियो ।
सुत्केरी भएको एक सातापछि जाँचका लागि जाँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।उपचारमा संलग्न एक स्वास्थ्यकर्मीका अनुसार बच्चाको भने अहिलेसम्म कोरोना जाँच भएको छैन । पछिल्लो समयमा एन्टिजेनमार्फत जाँच गराएर मात्र गर्भवती महिलाहरुको अस्पतालले सुत्केरी गराउँदै आएको छ । त्यसैगरी अर्जुनधारा ४ की ८२ वर्षिया बृद्धाको बिर्तासिटी हस्पिटलमा कोरोना संक्रमणबाट मृत्यु भएको छ भने कमल ७ की ४७ वर्षिया महिलाको आम्दा अस्पतालमा मृत्यु भएको छ ।कोरोना संक्रमणबाट झापामा ३४९ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्