झापा, असार १६ । प्रधानमन्त्री केपी ओली स्वयं लागेर चिकित्सा शिक्षा आयोगबाट निर्णय गराउन लगाएको बीएण्डसी टिचिङ हस्पिटलको सम्बन्धन प्रक्रियामा विज्ञ टोलीले असहयोग गरेको छ ।

गत जेठ २८ गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकले बीएण्डसी टिचिङ हस्पिटललाई एमबीबीएस पढाउन सम्वन्धन दिन मिल्ने वा नमिल्ने निर्णय सात दिनभित्र गरिसक्ने निर्णय गरेको थियो । सोही बैठकले त्यसअघि स्थलगत अनुगमनका लागि स्वतन्त्र विज्ञ टोली झापा पठाउने र उसले दिएको प्रतिवेदनका आधारमा अन्तिम निर्णय लिने भनेको थियो । तर आयोगले निर्णय गरेको १८ दिन पुगिसक्दा प्रतिवेदनको अत्तोपत्तो छैन । आयोगको सातौं बैठक प्रधानमन्त्री ओलीको अध्यक्षतामा जेठ २८ गते बसेपनि जेठ ३० गते मात्र माइन्युट तयार गरिएको थियो । दुई दिन अघिको बैठकले गरेको निर्णय अनुसार आयोगले बीएण्डसीको अनुगमन गर्न विज्ञहरुको तर्फबाट प्राडा प्रकाशराज पाण्डेको संयोजकत्वमा विज्ञ डा. भोजराज अधिकारी , आयोगका तर्फबाट प्राडा रमेश आचार्य र सेमन्तराज कोइराला रहेको चार सदस्यीय टोली पठाउने निर्णय गरेको थियो । उक्त टोली निर्धारित समयभन्दा केही ढिला भएपनि झापा पुगेर फर्किएको थियो ।

एक साताको म्यादमा दुई साता पुग्दा समेत प्रतिवेदनको अत्तोपत्तो नहुँदा आयोगले हिजोको बैठकमा प्रतिवेदन आउने अपेक्षा गरेको थियो । तर त्यो अपेक्षा पूरा हुन सकेन । हिजोको बैठकले सीसीएमसीको सहमतिपछि साउन ९ देखि प्रवेश परीक्षा लिने निर्णय मात्रै ग¥यो । आयोग स्रोतका अनुसार बीएण्डसीको अनुगमनमा गएका टोली संयोजक प्राडा पाण्डेले अहिलेको अनुगमन टोलीमा ‘इन्ट्रेष्ट’ बाझिने व्यक्ति रहेको पछि थाहा पाएको भन्दै प्रतिवेदनमा हस्ताक्षर गर्न मानेका छैनन् । उनले बीएण्डसी संञ्चालक दुर्गा प्रसाई र आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीबीच गत वर्ष भएको विवाद र त्यसपछिको अदालती प्रक्रियामा डा. गिरीकै तर्फबाट साक्षी बस्ने व्यक्ति डा. भोजराज अधिकारी नै भन्ने थाहा पाएपछि प्रतिवेदनमा ‘कन्फिल्क्ट अफ इन्ट्रेष्ट’ देखिने भन्दै हस्ताक्षर गर्न नमानेका हुन् ।

सुरुमा आयोगका तर्फबाट इन्पेक्सनमा गएका प्राडा आचार्यले डा. अधिकारी पहिले झगडियाको साझी बसेको हुँदा विपक्षी झगडियाको इन्फेक्सन गर्ने टोलीमा राखिएको भन्दै प्रतिवेदनमा ‘कन्फिल्क्ट अफ इन्ट्रेष्ट’ बाँझिने भएकाले हस्ताक्षर नगर्ने अडान लिए । त्यो कुरा समितिका संयोजक डा. पाण्डेले थाहा पाए । त्यसपछि डा. पाण्डेले डा. अधिकारीलाई आयोगका उपाध्यक्ष डा. गिरीको तर्फबाट बीएण्डसी कलेजका सञ्चालक दुर्गा प्रसाईसँगको गाली बेइज्जती सम्बन्धि मुद्धामा साक्षी बसे—नबसेको स्पष्ट पार्न आग्रह गरेका थिए । त्यसक्रममा डा. अधिकारीले आफू उक्त मुद्धामा साक्षी बसेको जवाफ दिएका थिए । आयोगका प्रवक्ता डिल्लीराम लुईटेलले आफूलाई बीएण्डसीको अनुगमन प्रतिवेदन सम्वन्धमा कुनै जानकारी नभएको बताए । ‘यो कुरा गोप्य पनि भयो । यो विषयमा हामीले चासो लिने कुरा पनि भएन । प्रवक्ता भएको नाताले मैले यति भन्न सक्छु प्रतिवेदन आएको छैन ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्