दमक,असार १६ । कमल गाउँपालिका ६ सोनापुरमा दुई बर्षअघि आगोले जलेर ज्यान गुमाएका परिवारलाई स्थानीय युवाहरुले घर निर्माण गरिदिएका छन् ।

आगोले जलेर देवीबहादुर बस्नेतका २२ बर्षिया छोरी कुलमायाको मृत्यु भएपछि पीडित परिवारलाई स्थानीय युवाले घर बनाइदिएका हुन् ।
उनलाई बचाउन गरिएका सबै प्रयत्नहरुका बावजुद कुलमायाले मृत्युसंग हार्नु परेपछि गरिवीका कारण घरवारविहीन बस्नेत परिवारको बसोवासको व्यवस्था गर्न घर बनाइदिएको घर निर्माणको अगुवाई गरेका सामाजिक अगुवा हुकुमसिंह राईले बताए । राईसहितका मनकारी युवाहरुको सक्रियतामा पक्की घर निर्माण गरिएको हो । एकतले जस्तापाताले छाएको पक्की घर करिव ५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उनले वताए।
दुई बर्षअघि ९ मसिंरमा खोले पकाउन आगो बालेको चुल्होमा परेपछि कुलमायाको उपचारका लागि राईको नेतृत्वमा कुलमाया बचाउ अभियान गठन गरिएको थियो । उपचारका क्रममा विरामीको मृत्यु भएपछि त्यही अभियानलाई घर निर्माण समितिमा रुपान्तरण गरिएको थियो ।
बस्नेत परिवार तीन पुस्तादेखि त्यहाँका एक नेपाल परिवारको घरायसी कामदारका रुपमा बस्दै आएका थिए । आर्थिक अवस्था अत्यन्तै कमजोर बस्नेत परिवारलाई आफ्नै घरमा राख्न मनकारी युवाहरुको अगुवाईमा घर बनाउन सफल भएको स्थानीय तेजु आङदेम्बेले बताए ।
कुलमाया बचाउ अभियानकै बीचमा विरामीको उपचारका लागि दाताहरुले कूल ३ लाख ८० हजार रुपैयाँ सहयोग गरेका थिए । सो रकम समेत केही प्रतिशत खर्चिएर करिव साढे ५ लाख रुपैयाँको लागतमा घर निर्माण भएको बताइएको छ । घर निर्माण अन्तिम चरणमा पुगेपछि वडा कार्यालयले पनि पीडितको निर्माणाधीन घरमा आवश्यक जस्तापाता सहयोग गरेको निर्माण समितिका संयोजक राईले बताए। घर बनाउन युवाहरुको समन्वयमा नेपाल परिवारले १० धुर जमिन दिएका थिए । त्यही जमिनमा पीडितलाई घर बनाईदिएको उनले बताएका छन् ।
कुलमाया बचाउका लागि दाताहरुले गरेको सहयोग रकम भने कुलमायाको परिवारको जिविकोपार्जनका लागि घरसंगै उक्त रकम समेत हस्तान्तरण गर्ने योजना रहेको उनको भनाई छ ।
पुस्तौंसम्म नेपाल परिवारको सेवा र संरक्षणमा बसेको बस्नेत परिवारका लागि ओत लाग्ने आफ्नो घर र जग्गा जमिन नभएकै अवस्थामा कुलमायाकी आमाले पनि १२ – १३ बर्षअघि सुत्केरी हुने क्रममा ज्यान गुमाउनु परेको थियो ।
समाजबाट हेपिएको, गरिबीले थिचिएको अवस्थामा दुख र अभावका बीच जन्मिएकी कुलमायाको उपचार गर्दागर्दै समाजका मनकारीहरुले बचाउन त सकेनन् तर, पीडित बस्नेत परिवारलाई आफ्नै घरमा बसाउन युवाहरुको अगुवाईले पूर्णता पाएको संयोजक राईले बताए। उनले भने –‘घरवारविहीन बस्नेत परिवारलाई घर दिलाउन लागेका छौ, यसमा सहयोगी मनकारीहरुको महत्वपूर्ण योगदान छ ।’
उनका अनुसार घर निर्माणमा लाग्ने इटा,सिमेन्ट,रड लगायतका कच्चा सामग्री सहयोगबाट नै जुटाइएको थियो भने घर निर्माणमा खटिएका कामदारहरुले पनि न्यून ज्यालामा सहयोग पुर्याएका थिए । त्यस्तै एक दर्जन जति युवाहरु दैनिक जनश्रमदानमा खटिएका थिए ।
यसअघि कमल ५ स्थित टुकुरेमा बस्दैआएकी असहाय संगीता राईको परिवारका लागि पनि राईकै अगुवाईमा स्थानीय युवाहरुको समूहले करिव रु १ लाख ५० हजार खर्चिएर घर बनाई दिएका थिए । दुवै घर केहि दिनभित्रमा पीडित परिवारलाई हस्तान्तरण गर्ने जनाईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्