भद्रपुर ,असार १७ । झापाको चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिअन्तर्गत संचालित दोस्रो खानेपानी ट्यांकीबाट वितरित पानी दुषित भएको स्थानीय उपभोक्ताहरुले बताएका छन् ।

विगत १ महिनादेखि हप्तामा ३–४ दिनसम्म निरन्तर माटो मिसिएको कालो लेदोसहितको पानी धाराबाट आउने गरेको उनीहरुको गुनासो रहेको छ । प्रथम ट्यांकीबाट वितरित पानीमा अहिलेसम्म कुनै समस्या नदेखिए पनि नवनिर्मित ट्यांंकीबाट वितरित पानी भने खानयोग्य नभएको भद्रपुर १० स्थित शहीद चौक निवासी आमउपभोक्ताहरुको गुनासो छ । खानेपानीमा यस्तो समस्या देखिएपछि सम्पूर्ण उपभोक्ताहरुले पानीको नमूनासहित समितिमा गएर गुनासो राखेका थिए । तर, समितिले कुनै चासो नदेखाएको स्थानीय उपभोक्ता ढाकालाल अधिकारीले बताए । आफूले यस बिषयमा समितिका अध्यक्षलाई व्यक्तिगत रुपमै फोनबाट पटक–पटक समस्या समाधानका लागि सम्पर्क गरे पनि यस बिषयमा अध्यक्ष समेतले नसुनेको उनको भनाइ छ ।
नवनिर्मित ट्यांकीको मेशिनमै खराबी भएका कारण समस्या आएको हुनसक्ने भन्दै समितिले तत्काल ट्यांकीलाई मर्मत गरी उपभोक्ताहरुलाई शुद्ध पानी वितरण गर्नु पर्ने अधिकारीले बताए । दुषित खानेपानी सेवनका कारण आमउपभोक्ताहरुमा विभिन्न महामारीजन्य रोगहरु निम्तन सक्ने बताउँदै उपभोक्ता राजन अधिकारीले पानी वितरणमा तत्काल शुद्धता ल्याइनु पर्नेमा जोड दिए । स्वास्थ्यसंग जोडिएको खानेपानीलाई बेवास्ता गर्न नहुने स्थानीय आमउपभोक्ताहरुको भनाई रहेको छ ।
यता समितिका अध्यक्ष पुरुषोत्तम अधिकारीले भने प्राविधिकहरुको सहयोगमा समितिले छिटोभन्दा छिटो निर्णय गरी शुद्धता बनाउने विषयमा आफू प्रतिबद्ध भएर लाग्ने बताए । ३५ सयबढी उपभोक्ता रहेको समितिले चन्द्रगढी खानेपानीको पुरानो ट्यांकीबाट मात्र पानी पुर्याउन समस्या भएपछि विगत केही समयदेखि नवनिर्मित ट्यांकीबाट आमउपभोक्ताहरुलाई पानी वितरण गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्