झापा,असार १७ । बिर्तामोड नगरपालिकाले कृषकहरुको लागि वोयर जातका बोका,कृषि औजार तथा कृषि सामग्री वितरण गरेको छ ।

नगरपालिकाको कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमकाबीच नगरका १० वटा वडाका कृषक तथा विभिन्न कृषक समूहहरुलाई बोयर जातका बोका,कृषि औजार तथा साइलेज मेसिन वितरण गरिएको हो ।

नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखा र कृषि विकास शाखाको आर्थिक वर्ष २०७७–७८को स्वीकृत कार्यक्रमअनुसार श्रीजंघा बाख्रा पालन समूह बिर्तामोड ७,लखिबारी युवा बाख्रापालन कृषक समूह बिर्तामोड ९,बद्रीवाडी बाख्रापालन कृषक समूह बिर्तामोड ९ र नयाँ नमुना बाख्रापालन कृषक समूह बिर्तामोड ८लाई बोका वितरण गरिएको हो ।
यसैगरी सोही कार्यक्रमअन्तर्गत बिर्तामोड कृषि तथा पशुपालन समूह बिर्तामोड ७ लाई साइलेज मेसिन हारवेस्टर हस्तान्तरण गरिएको छ ।व्यावसायिक कृषकहरुको लागि पशु आहार व्यवस्थापन गर्ने उद्धेश्यले १० लाख ५० हजार मूल्य बराबरको मेसिन हस्तान्तरण गरिएको हो ।जसमा नगरपालिकाको ८० प्रतिशत र बिर्तामोड कृषि तथा पशुपालन समूहको २० प्रतिशत लगानी रहेको छ ।

यस्तै नगरपालिकाले १० वटै वडाका ४४ जना कृषकहरुको लागि च्यापकटर (कुटी काट्ने मेसिन) वितरण गरेको छ ।बिर्तामोड नगरपालिका र सहारा नेपाल साकोसको साझेदारीमा ती मेसिन वितरण गरिएको हो ।यस्तै नगरपालिकाले तरकारी उत्पादन गर्ने नगरका १० वटै वडाका ६० जना व्यावसायिक कृषकहरुको लागि स्प्रे ट्यांकी,अर्गानिक विषादीलगायतका विभिन्न सामग्रीहरु समेत वितरण गरेको छ ।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले सहयोगी संस्था सहारा नेपालप्रति धन्यवाद ज्ञापन गरे ।सहारा नेपाल कृषक तथा विपन्नहरुको लागि सहारा बनेको भन्दै उनले आगामी आर्थिक वर्षमा पनि सहयोग गर्ने प्रतिवद्वता जनाएकोमा सहारा नेपालप्रति उच्च सम्मान व्यक्त गरे ।नगरप्रमुख शिवाकोटीले कृषि औजार तथा सामग्री वितरण कार्यक्रमलाई मंसीर १५ गते अगाडि नै सक्न पशुपंक्षी तथा मत्स्य विकास र कृषि विकास शाखालाई निर्देशन दिए । यस्तै उपप्रमुख पवित्रा महतारा प्रसाईले विगतका वर्षहरु देखि नै कृषि,पशुपालन तथा जनता आवास कार्यक्रममा सहारा नेपालसंगको साझेदारीमा कार्यक्रम भईरहेको भन्दै प्रशंसा गरिन् । उनले कृषि क्षेत्रलाई विकास गर्न सकेमात्रै देश अगाडि बढ्ने भन्दै कृषकहरुलाई नगरले दिएको सामग्री सदुपयोग गर्न आग्रह गरिन् ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले पनि नगरपालिकाको कार्यक्रममा सहारा नेपालले गरेको सहयोगप्रति आभार व्यक्त गरे ।उनले कृषि र पशुपालनको क्षेत्रको बढोत्तरी गर्नको निमित्त सहारा नेपालको सहयोग रहेको भएको भन्दै आगामी आर्थिक वर्ष २०७८–७९को लागि पनि सहकार्य गर्ने दृढता रहेको र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत उल्लेख गरेको जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत दाहालले कृषि र पशु देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको भन्दै यस क्षेत्रलाई व्यावसायिक बनाएर लैजानु पर्नेमा जोड दिए । कार्यक्रममा सहयोगी संस्था सहारा नेपाल साकोसका सहसचिव ज्ञानुनाथ मैनालीले कार्यक्रम सफल हुनुमा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले मेहनत गरेको बताए ।उनले नगरपालिकासंग सहारा नेपालको टिम पनि संगसंगै लागेर विपन्न वर्गका ग्रामीण क्षेत्रमा रहेका किसानहरुलाई थोरै भएपनि राहत पुगोस् र उत्पादनमा वृद्वि होस् भन्ने अभिप्रायले विगतदेखि अहिलेसम्म सहयोग गर्दै आएको बताए । कार्यक्रममा बिर्तामोड ९की वडाध्यक्ष पवित्रा पाठक,शिक्षा शाखा प्रमुख तिलचन भण्डारी,शाखा अधिकृत देवराज कार्की,कृषि विकास शाखा प्रमुख राजेन्द्र कडरिया,पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहाल,प्राविधिक विष्णुप्रसाद भट्टराई,सहारा नेपाल साकोसका शंकर रिजाललगायत जनप्रतिनिधि तथा कृषकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्