भद्रपुर, असार १९ । केही दिनयता निरन्तरको वर्षापछि भद्रपुर नगरक्षेत्रका अधिकांश भित्री सडक तथा बस्ती डुबानमा परेका छन् ।

नगरपालिकाले सडक विस्तार तथा स्तरीकरण गर्दा पानीको निकास सहज हुने गरी नालीको प्रवन्ध गर्न नसक्दा अधिकांश बस्ती र सडक डुवानमा परेका हुन् ।
भद्रपुर नगरक्षेत्रमा सघन सहरी विकास तथा नगर कोषमार्फत निर्माण भएका अधिकांश सडकका नालीबाट सहज पानी बग्न नसकेका कारण डुबान सहनु परेको स्थानीयको गुनासो छ ।
नगरभित्र निर्माण भएका कालोपत्रे सडक पानी पसेका कारण भत्कन थालेको भएपनि नगरपालिकाले ध्यान नदिएको स्थानीयको गुनासो छ । स्थानीय अरविन्द अधिकारीले संघीय सरकारदेखि स्थानीय सरकारको लगानीसम्ममा निर्माण भएका सडक पानी निकासमा ध्यान नदिँदा सडक नै डुवानमा परेर आवतजावतमा समस्या भइरहेको बताए ।