झापा , असार २० । जिल्लाका १५ वटा पालिकामध्ये झापा गाउँपालिका बाढीको सबैभन्दा उच्च जोखिममा रहेको छ ।

जिल्ला पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ अनुसार झापा गाउँपालिका बाढीको उच्च जोखिममा रहेको देखिएको छ ।
न्याय तथा विकासका लागि सामाजिक संजाल झापाले गरेको सहभागीमूलक संकटा सन्नाटा र क्षमता बिश्लेषण ( पीसीभीए) प्रतिवेदन अनुसार बाढीको उच्च जोखिममा झापा गाउँपालिकाका १४ वटा समुदायका ६८७ घरपरिवार रहेका छन् । झापा गापालाई कनकाई , बिरीङ र सानो माई नदीले वर्षेनि प्रभावित गर्ने गरेको छ । ती नदी किनारामा बस्ने समुदाय बाढीको उच्च जोखिममा देखिएका हुन् । कच्चुदह , टप्पु , सिर्जना बस्ती , बालुवाटार , सडकबाडी , मिलनबस्ती , लसुना ,सालमारा , गैरीगाउँ उराउ बस्ती , चन्द्रबस्ती , खयरबारी , हाटखोला नयाँ बजार लगायतका समुदाय उच्च जोखिममा रहेको न्याय तथा विकासका लागि सामाजिक संजालका संयोजक कुमार चुडालले बताए । उनका अनुसार बाढी आउँदा ती समुदायहरु प्रभावित हुनसक्ने देखिएको छ । संभावित जोखिमका बारेमा गरिएको अध्ययनको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय , नेपाल रेडक्रस सोसाइटी , झापा गाउँपालिका कार्यालयलाई बुझाइएको चुडालले बताए ।

जोखिममा परेका ती समुदायमा जिल्ला पूर्वतयारी तथा प्रतिकार्य योजना संचालित छ । नेपाल रेडक्रस सोसाइटीले ती ठाउँहरुमा पूर्व सूचना प्रणाली जडान गरेको छ । त्यस्तै विपद् व्यवस्थापन समितिहरु गठन गरिएका छन् । ती समितिहरुलाई कोषको व्यवस्था गरिएको छ भने सुरक्षा सामग्रीहरु बन्दोबस्त अबस्थामा राखिएको छ । ‘विपद परिहाले परिचालन गर्नेगरी तयारी अबस्थामा राखिएको छ’ संयोजक चुडालले भने ,‘ विपदबाट जोगिनका लागि जनचेतनासहित तालिम प्रदान गरिएको छ ।’

वर्षेनि बाढीबाट प्रभावित हुँदै आएको झापा गाउँपालिकामा गत वर्ष सय घर डुबानमा परेका थिए । यस वर्ष पनि बाढीको क्षति शुरु भइसकेको छ । झापा गाउँपालिका–५ खयरबारीमा बिरीङ खोलाको बाँध भत्किएको छ । बाँध भत्किदा केही खेत बगाएको वडाध्यक्ष दिनेश राजवंशीले बताए ।
तिनै समुदायहरुलाई सुरक्षित हिसावले उद्धार गर्नका लागि लुथरन वल्र्ड फेडेरेशन नेपालसंगको साझेदारीमा न्याय तथा विकासका लागि सामाजिक संजालले झापा गाउँपालिकामार्फत सशस्त्र प्रहरी वललाई सुरक्षित आकस्मिक सामग्री हस्तान्तरण गरेको छ । गाउँपालिकामार्फत १५ वटा लाइट ज्याकेट , १५ वटा हेल्मेट , १५ जोर गमबुट , ३ वटा टर्चलाइट , ३ वटा हाते बन्चरो , एक सय मिटर नाइलनको डोरी प्रदान गरिएको संजालका संयोजक चुडालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्