बिर्तामोड , असार २१ । बिर्तामोड नगरपालिका वडा नम्बर ९ का विपन्न दलितहरुलाई बंगुरका पाठा वितरण गरिएको छ ।

सोमबार दलित जागरण अभियान केन्द्र बिर्तामोडले आयोजना गरेको एक कार्यक्रमका बीच नगरप्रमुख धु्रवकुमार शिवाकोटी र वडाध्यक्ष पवित्रा पाठकले उनीहरुलाई वंगुरका पाठा वितरण गरेका हुन् । बिर्तामोड नगरपालिका वडा नम्बर ९ को २ लाख ५० हजार रुपैयाँको आर्थिक सहयोगमा बंगुरपालन कार्यक्रमअन्तर्गत ४० जना विपन्न दलित परिवारलाई पाठा वितरण गरिएको वडाध्यक्ष पाठकले बताइन् ।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख शिवाकोटीले वंगुरपालनबाट राम्रो लाभ लिन सकिने भन्दै पालनपोषणमा ध्यान दिन आग्रह गरे ।उनले बंगुरपालन कार्यक्रमलाई थप प्रभावकारी बनाउन वितरण गरिएका वंगुरहरुको बिमा र बीउको लागि भाले बंगुर खरिद गरिदिने पनि बताए ।कृषिमा आत्मनिर्भर बनाउँदै विपन्न दलित समुदायको आर्थिक स्तर वृद्वि गर्ने नगरपालिकाको उद्धेश्य रहेको उनको भनाई थियो ।

दलित जागरण अभियान केन्द्रका अध्यक्ष छविलाल विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख शिवाकोटी,बिर्तामोड ९ की वडाध्यक्ष पाठक,नेकपा माओवादी केन्द्र बिर्तामोडका अध्यक्ष मोहन सुव्वा, दलित जागरण अभियान केन्द्रका उपाध्यक्ष लक्ष्मी मोते,सचिव गोपाल लकान्द्री,सहसचिव सुमन त्रिखत्री,कार्यपालिका सदस्य संगीता शिवा,वडा नम्बर ९का वडा सदस्य बालकृष्ण कार्कीलगायतको उपस्थिति रहेको थियो ।

दलित जागरण अभियान केन्द्रले बंगुरपालनको अनुगमनको लागि खेम नेपालीको संयोजकत्वमा समिति गठन गरेको छ ।बिर्तामोड नगरपालिकाले विपन्न दलित परिवारलाई वार्षिक २२० वटाभन्दा बढी बंगुरका पाठा वितरण गर्दै आएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्