झापा , असार २२ । नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य पार्थ मण्डललाई प्रकाशित समाचारको विषयलाई लिएर विद्यालयमा उपस्थित भई लिखित स्पष्टीकरणका लागि आदेश दिएको घटनाप्रति पत्रकार संगठनहरुले आपत्ति जनाएका छन् ।

कचनकवल गाउँपालिका वडा नं. ६ बनियानीस्थित लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु बुढाथोकीले थाहा खबरमा प्रकाशित समाचारको विषयलाई लिएर विद्यालयमा उपस्थित भई लिखित स्पष्टीकरण दिन पत्रकार मण्डललाई पत्राचार गरेको र उक्त पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ झापा शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रकाशित समाचारप्रति चित्त नबुझे वा गुनासो रहे त्यसविरुद्ध कानुनी उपचारको बाटो हुँदाहुँदै सार्वजनिक निकायमा वहाल रहेका विद्यालयको प्रधानाध्यापकजस्तो जिम्मेवार व्यक्तिबाट पत्रकारलाई स्पष्टीकरण सोध्न पत्राचार गर्नु र उक्त पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेर पत्रकारको मर्यादामा आँच पु¥याउने कार्य आफैंमा आपत्तिजनक र प्रेस स्वतन्त्रता विरोधी काम हो भन्दै पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने धम्कीपूर्ण कार्यको महासंघले निन्दा र कडा भत्र्सना गरेको छ । प्रेस स्वतन्त्रता विरोधी उक्त कार्य तत्काल सच्याउन र आइन्दा यस्ता गतिविधि नदोहो¥याउन सम्बन्धित पक्षलाई सचेतसमेत गराएको छ । समाचारको विषयलाई लिएर स्पष्टीकरणको नाममा पत्रकारलाई धम्क्याउने, हतोत्साहित र त्रसित बनाउने जस्ता प्रेस स्वतन्त्रता विरोधी गतिविधि गर्ने प्रधानाध्यापक बुढाथोकीमाथि छानबिन गरी कानूनी कारवाही गर्न सम्बन्धित स्थानीय सरकार तथा मातहतको शिक्षा समितिसहित सरोकारवाला निकायलाई महासंघ आग्रह गरेको छ । महासंघका सचिव डिकेश लामाद्वारा जारी विज्ञप्तिमा पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन स्थानीय प्रशासनको ध्यानाकर्षण गराइएको छ ।

त्यस्तै प्रेस संगठन झापाले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण माग्ने पत्र भाइरल बनाएर स्वतन्त्र पत्रकारितामाथि ठाडो प्रहार गरेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अदालती शैलीमा विद्यालयले पठाएको पत्रले प्रधानाध्यापकको अज्ञानता तथा अहम्ताको पराकाष्ठा भएको संगठनले ठहर गरेको छ । पत्रकारको मानहानी तथा त्यस्ता गलत गतिविधि गर्नेे प्रधानाध्यापकलाई कानुन बमोजिम कडा कारवाही गर्न प्रेस संगठनले पनि माग गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्