झापा , असार २३ । इलाम नगरपालिका १२ साङरुम्बा पिप्ले भञ्ज्याङका ४५ बर्षीय यमबहादुर साँवाले सोही स्थानका ५८ बर्षीय धनबहादुर राईको हत्या गरेका छन् ।

बुधबार बिहान साँवाले राईको पेटमा खुकुरी प्रहार गरी हत्या गरेका थिए । घटनाको जानकारी पाएलगतै प्रहरी चौकी गोलाखर्क र जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरीको टोलीले हत्या गर्ने साँवालाई खुकुरीसहित पक्राउ गरेको छ । तत्काल हत्या गर्नुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
उता पाँचथरको फिदिम नगरपालिका–४ जोरसालमा गत जेठ २९ गते ७९ बर्षिय टेकबहादुर लिम्बुको हत्यामा संलग्न एकजना पक्राउ परेका छन् । घटनाको २५ दिनमा हत्यारा पहिचान गरी पक्राउ गर्न पाँचथर प्रहरी सफल भएको हो । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा फिदिम–२ पल्लोटारका ५९ बर्षिय जिवनारायण श्रेष्ठलाई पक्राउ गरेको हो । पाँचथरका प्रहरी प्रमुख डिएसपी दानबहादुर थापाका अनुसार बुधबार जिल्ला अदालत पाँचथरबाट म्याद थपी अनुसन्धान भइरहेको छ ।
जिल्ला यान्त्रिक कार्यालय फिदिममा सुरक्षागार्डको काम गर्ने श्रेष्ठले बाम्फोक प्रहार गरी हत्या गरेको खुल्न आएको छ । हत्या गरिएका लिम्बुसँग जग्गाको साँधसिमानाको विषयमा पटकपटक विवाद भएको खुलेको छ । घटना भएको दिउँसो खेतमा व्याड राख्ने बेला पानीको विषयमा विवाद भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्