झापा , असार २४ । पूर्व सांसद डिल्लीप्रसाद सिटौला , स्व.गिरिराजकुमारी प्रसाईसहित ११ जनालाई गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान प्रदान गरिने भएको छ ।

गणेशमान सिंह फाउण्डेशनले २०४६ सालको जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष सिंहको स्मृतिमा स्थापना गरिएको उक्त सम्मान २०४६ सालमा प्रजातन्त्र ल्याउनका लागि सिंहको अभियानमा जोडिएका प्रजातन्त्र सेनानीलाई प्रदान गर्न लागेको हो ।
फाउण्डेशनले प्रजातन्त्र सेनानी चोरेन्द्रमानसिंह प्रधान, राजकृष्ण अमात्य, स्व. अरविन्द ठाकुर, स्व सूर्यप्रसाद रेग्मी, स्व. गिरिराजकुमारी प्रसाईं, श्रीपटनाथ जोशी, फोटो पत्रकार मीनरत्न बज्राचार्य, रोमहरि अधिकारी, ध्रुव खनाल, वरिष्ठ पत्रकार भैरव रिसाल र पूर्व सांसद सिटौलालाई प्रदान गर्न लागेको हो ।
फाउण्डेशनले मंगलबार प्रजातन्त्र सेनानी खनाल र वरिष्ठ फोटो पत्रकार बज्राचार्यलाई सम्मान गरेको थियो । यस्तै, क्रमशः नौ जनालाई सम्मान गर्दै जाने फाउण्डेशनका कार्यालय सचिव धर्मरत्न पाछैले जानकारी दिए । मंगलबार खनाल र बज्राचार्यलाई कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रमाणपत्र, दोसल्ला र नगद २५ हजारद्वारा सम्मान गरेका थिए । पूर्व सांसद सिटौला र स्व. गिरिराजकुमारीको सम्मान पनि घरमै ल्याएर प्रदान गर्ने जनाइएको छ ।