झापा , असार २५ । नेकपा एमालेका नेता ज्ञानुराम प्रसाईको कार दुर्घटनामा मृत्यु भएको छ ।

चारआलीबाट चन्द्रगढीतर्फ जाँदै गरेका बिर्तामोड ५ निबासी ५२ वर्षिय प्रसाई सवार बा १६ च ८१८२ नम्बरको कार आज बिहान ११.४० बजे भद्रपुर–९ देवकोटा चोकमा अनियन्त्रित भई सालिक राखिएको कम्पाउन्डमा ठोक्किएको थियो । केही समयपछि घाइते प्रसाईलाई उद्धार गरी उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएकोमा दिउँसो १२.१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रसाई चढेको कार तीब्र गतिका कारण अनियन्त्रित भई दुर्घटनामा परेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । ‘ ओभर स्पीडका कारण गाडी कन्ट्रोल नहुँदा दुर्घटना भएको देखियो ’ दुर्घटनास्थलमा रहेका एक प्रहरी अधिकृतले भने ,‘ सालिककै कारणले मात्र दुर्घटना भएको होइन ।’ उनले सालिकको पूर्वपट्टी मोड्नका लागि सामान्य समस्या रहेको बताए ।
मृतक प्रसाई बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महताराका पति हुन् । नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष रहेका युवा नेता प्रसाई विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेका थिए । देवी मावि व्यवस्थापन समितिका अध्यक्ष , देवी क्याम्पस संचालक समितिका सदस्य , प्रसाई बन्धु समाजका केन्द्रीय महासचिव , मनमोहन सामुदायिक अस्पतालका कोषाध्यक्ष ,जिल्ला शिक्षा समितिका सदस्य , बिर्तामोड नगरपालिका नगर शिक्षा समितिका सदस्य , महेन्द्र रत्न मावि जग्गा व्यवस्थापन समितिका सदस्यलगायत धेरै जिम्मेवारीमा रहेका थिए ।
स्पष्ट बोल्ने प्रसाईं झापाका लोकप्रिय युवा नेता थिए । उनको निधनले राजनीतिक , सामाजिक , शैक्षिकलगायतका क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । प्रसाईको अकल्पनीय निधनबाट बिर्तामोडबासी शोकमा डुबेका छन् । प्रसाईको अहिले साँझ कनकाई माईमा दाहसंस्कार गरिदैछ । प्रसाईका श्रीमती उपप्रमुख पवित्रा महतारा प्रसाईं,छोरा प्रजेश प्रसाईं र छोरी प्रज्ञा प्रसाईं रहेका छन् । केही महिनाअघि प्रसाईकी आमाको निधन भएको थियो ।