बिर्तामोड , असार २६ । विभिन्न रोग र दुर्घटनाबाट पीडित भई उपचाररत बिर्तामोड ८ का १७ जना गम्भीर बिरामीहरुलाई वडा कार्यालयले आर्थिक सहयोग गरेको छ ।

वडाध्यक्ष अजय कार्कीको नेतृत्वमा वडाका जनप्रतिनिधिहरुको टोलीले पीडितहरुको घर–घरमा पुगी सहयोग रकम हस्तान्तरण गरेको हो ।
पीडितहरुको औषधी उपचारका लागि ५ हजार रुपैयाँका दरले १७ परिवारलाई सहयोग गरिएको वडाध्यक्ष कार्कीले बताए । .पीडितहरुको थप उपचारका लागि पहल भैरहेको र तत्कालका लागि वडाका तर्फबाट राहतस्वरुप उक्त रकम प्रदान गरिएको उनको भनाई छ । ब्रेन ट्युमरका कारण विगत २ बर्षदेखि थला परेकी ४८ बर्षिया पवित्रादेवी मैनाली, सडक दुर्घटनामा परी गम्भीर घाइते बनेका ४२ बर्षका भक्त शिवाकोटी, दुवै मिर्गौला खराब भई ४ बर्षदेखि डाइलोसिस गराईरहेका ५३ बर्षिय किरणबहादुर दर्जी , प्यारालाइसिसका कारण थला परेका लोकबहादुर कार्कीको उपचार सहयोगका लागि रकम हस्तान्तरण गरिएको हो ।
त्यस्तै विभिन्न रोगका कारण पीडित बनेका वडाकै साबित्रा कटुवाल, धर्म भट्टराई, फुना राजवंशी , भक्त श्रेष्ठ, गंगा बुढाथोकी, निरकुमार दाहाल, फुपु सतार, सूर्य खड्का, रेनुकादेवी कार्की , टेकेन्द्रप्रसाद पौडेललगायतलाई पनि रकम हस्तान्तरण गरिएको छ । त्यस्तै केही दिनअघि छोराको मृत्यु भई काजकिरिया गर्न समस्या भएका बौवा राजवंशीको परिवारलाई किरिया खर्चस्वरुप ५ हजार रुपैयाँ , दाल चामललगायतका खाद्य सामग्री समेत प्रदान गरिएको छ । यसअघि कार्कीको पहलमा वडाका विपन्न नागरिकका लागि ८ सय बोरा चामल वितरण गरिएको थियो । वडाध्यक्ष कार्कीको सक्रियताले वडाका विपन्न नागरिकले राहत पाएर खुसी व्यक्त गरेका छन् । गम्भीर बिरामीहरुको थप उपचारको व्यवस्था मिलाईदिन पनि परिवारजनले अनुरोध गरेका छन् ।