विद्यार्थी जीवनकालदेखि नै राजनीतिक तथा साँस्कृतिक अभियानमार्फत समाज परिवर्तनका क्षेत्रमा क्रियाशील ज्ञानुराम प्रसाईको नाम सुन्दै आएको भए पनि २०६९–७० मा हामीले झापाबाट टेलिश्रृंखला ‘कुरा अर्को छ’ र ‘बिहानी’ छायांकन गरी नेपाल टेलिभिजनबाट प्रसारण गर्नेक्रममा पवित्रा महतरा प्रसाई सल्लाहकार सदस्य रहेर सहयोग पुर्याएपश्चात् घरमा आवतजावत बढ्दै जाँदा हामी ज्ञानु सरसंग निकट हुन पुग्यौं । झट्ट हेर्दा अलिकति कडा स्वभाव जस्तो देखिए पनि टक्कर लिएर हैन भावना पोखेर साह्रै छिटो मन जित्न सकिने न्यायका पक्षधर स्पष्टवक्ता , कलासाहित्य र सिर्जनामा आफूले पछिल्लो समयमा कलम चलाउन समय नमिले पनि रंग साहित्यका पुजारी आदरणीय ज्ञानुराम प्रसाईसंग एउटै संस्थामा रहेर प्रदेश न.१ कै पहिलो ऐतिहासिक साँस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माण अभियानमा जोडिएर अघि बढ्ने मौका मिल्यो ।

कथाक्रम यसरी अघि बढ्छ । मिति २०७५ साल माघ १८ गते झोराहाट नाट्य समूहको सहकार्यमा हामीले जननेता मदन भण्डारीको जीवनकथामा आधारित नाटक राष्ट्रपति भवन शितल निवासमा सम्माननीय राष्ट्रपति,प्रधानमन्त्रीलगायत २५० बिशिष्ट श्रेणीका महानुभावहरुबीच मञ्चन गर्यौं । मञ्चनपश्चात् प्रधानमन्त्री ज्यूबाट हामीलाई भब्य सम्मान गर्दै आफूले के गर्नु पर्छ, सरकारसंग तपाईंहरुको के चाहना छ भनी सोध्दा मैले स्वयम् भनेँ– हामी झापामा साँस्कृतिक संग्रहालयसहितको झापा नाटक घर बनाउँदैछौ । हामीलाई बिर्तामोड ५ निवासी मनोज निरौलाले निशुल्क जमिन प्रदान गर्नु भएको छ । त्यहाँ सरकारले सर्वप्रथम बाटो र बिजुली बत्ती पुर्याइदिनु पर्छ हाम्रो पहिलो माग थियो । दोश्रो यो नाटकलाई हामी बिर्तामोडमा लगेर मञ्चन गर्न चाहन्छौ ।नाटक एक हप्ता चल्ने वातावरण र श्रोतको अपेक्षा छ– मैले राष्ट्रपति र प्रधानमन्त्रीका बीचमा प्रस्ताव राखे । प्रधानमन्त्री ज्यूले हाँस्दै भन्नुभयो –कल्पितजी तपाईंको दुवै माग पुुरा हुुन्छन्। तपाईंले गएर देवराज घिमिरे भन्ने मान्छेलाई भेट्नु । हामी सो दिनको रात्रीभोज राष्ट्रपति भवनमा नै ग्रहण गरेर भोलिपल्ट जिल्ला फिर्यौं । आएको भोलिपल्ट मैले नचिनेको मान्छे देवराज घिमिरेलाई फोन गरें । मेरो कुरा सुन्नेबितिकै उहाँले पर्सि ११ बजे बिर्तामोडको मदनआश्रित भवनमा आउन आग्रह गर्नु भयो । म तोकेको समय र स्थानमा पुग्दा १५वटै नगर र गाउँपालिका प्रमुख, उप प्रमुख र केही बिशिष्ट श्रेणीका महानुभावहरुको भेला भैसकेको रहेछ । परिचयपश्चात् बल्ल मैले चिनें नेकपा १ नम्बर प्रमुख ब्यक्ति पो हुनुहुँदो रहेछ देवराज घिमिरे ज्यु त । मैले केही बोल्नु परेन । सबै कुरा उहाँले नै सबैलाई प्रष्ट पार्नु भयो र नाटक मञ्चनसहित झापा नाटक घर निर्माणका लागि सर्वदलीय समिति गठनका लागि उठेको प्रस्तावमा सोही भेलाले ज्ञानुराम प्रसाइलाई सर्वसम्मत संयोजकमा चयन गर्याे र हामी बिधिवत रुपमा एउटै संस्थामा जोडिन पुग्यौं ।

ज्ञानु सरको अथक प्रयास प्रयत्न र लगनशीलताले सात सोको लागि भनिएको नाटक ‘बर्बरिक’ अतिथि सदनमा २१ सो मञ्चन गर्दा करिव १५हजार दर्शकले सो नाटक हेरेका थिए ।उक्त नाटकबाट खर्च कटाएर १९ लाख रुपैयाँ हामीले बचत गर्न सफल भएपश्चात् हामी सबै निर्ढुक्कसाथ ज्ञानु सरलाई शिरमा राखेर झापा नाटक घर निर्माणमा लागिपर्यौं । छोटो समयमा १ धुरबाट सुरु गरेको भूमिदान २०० धुरमा पुगेको छ ।१५ रुपैयाँको १ इटाबाट सुरु गरेको निर्माण सहयोगले १ करोडको भवन निर्माण गर्न सफल भयौं । तर सपना अझै पुुरा हुन नपाउँदै, निर्माण अभियानलाई सम्पन्नताको शिखरमा पुर्याउन नपाउँदै भएको उहाँको असामयिक निधनले झापाली रंग साहित्यको आकाशमा कहिलै पूर्ण हुन नसक्ने क्षति वेहोर्नु पर्दा हामी सबै स्तब्ध र मर्माहत बन्न पुगेका छौ ।दिवंगत हुनु २ घण्टा अगाडि फोन गरेर माधवजी भोलि बिहान ७ बजेको बैठक बोलाउनु है ! म पनि आउँछु जग्गा त यसै महिनामा पास गर्नु पर्छ पैसा पुगेन भने तपाईं चिन्ता नलिनु क्लोजिङ्ले समस्या त पारेकै छ र पनि म १० लाख जुटाउँला भनेर जानु भएको ।

हामी नाटक घरका आँखी झ्यालबाट हरेक बिहान नियालिरहेका छौ दाई तपाईं खै कहिले आउनु हुन्छ ? तपाईं जहाँ गए जहाँ रहे पनि हर झापाली कला पारखीको मन मुटुमा सदा सर्वदा रहिरहनु हुनेछ । साँस्कृतिक संग्रहालयका हरेक कण–कणमा तपाईंको योगदान र सपनालाई साकार तुल्याउँदै हामी तपाईंको मान र प्रतिष्ठालाई अमरत्व प्रदान गर्नेछौ ।दाई बैकुण्ठमा रहेर भए पनि हामीलाई तपाईबाट सद्बुद्धि, सद्विचार र आशिर्बाद सदा रहिरहोस् । कोभिडबाट जीवन मृत्युसंग म लडिरहेको बेला तपाईंले त्यो रात मेरो मुखमा ल्याएर अक्सिजन नजोडिदिएको भए आज तपाईंभन्दा म पहिला हुने थिएँ । तपाईं मजस्ता हजारौंलाई प्राण भरेर आफू चाहिँ एक्लै कता जानु भयो दाई ? झापाली रंगमञ्चका हरेक पाना–पानाले तपाईलाई चिरकालसम्म सम्झिरहने छ ज्ञानु सर अलबिदा ।
(लेखक कल्पित क्षितिज नाट्य समूहका केन्द्रीय अध्यक्ष हुन्)

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्