झापा , असार २६ । निषेधाज्ञा खुकुलो बनाएसँगै झापामा कोरोना संक्रमण र मृत्यु दर बढ्न थालेपछि चिन्ता थपिएको छ । निषेधाज्ञा खुकुलो बनाएकै कारण संक्रमण दर बढेको पाइएकोले अब निषेधाज्ञाका बिषयमा पुनर्विचार गर्नुपर्ने माग उठ्न थालेको छ ।
निषेधाज्ञा खुकुलो बनाएयता संक्रमण बढेपछि प्रहरी प्रशासनलाई मुख्य चिन्ता थपिएको हो । निषेधाज्ञामा ढिलाई गरेकै कारण संक्रमण बढ्दा त्यसको जिम्मेवारी लिनुपर्ने भएपछि प्रहरी प्रशासनलाई तनाव भएको हो । निषेधाज्ञामा कडाई नगरिँदा कोरोना संक्रमण र मृत्यु दर बढेपछि चिन्ताको बिषय बनेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । ‘संक्रमण बढ्दै जाँदा तनाव थपिएको छ ’उनले भने , ‘अब के गर्ने भनेर सोच्ने बेला भएको छ ।’ जिल्ला प्रशासन कार्यालयले असार ३१ मसान्तसम्म निषेधाज्ञालाई खुकुलो बनाएको छ ।त्यसपछि निषेधाज्ञालाई कसरी लागू गर्ने भन्ने विषयमा सोच्ने बेला आएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए । ‘ अब कस्तो नतिजा आउँछ ’ उनले भने ,‘त्यो हेरेर हामी निर्णय गर्छौं ।’ यही दरमा संक्रमण दर बढ्दै गएमा आगामी साउन महिनादेखि निषेधाज्ञामा फेरि कडाई गरिने उनले संकेत गरे । काठमाडौं उपत्यका र छिमेकी जिल्ला मोरङ , सुनसरीलाई हेरेर आफूहरुले पनि निषेधाज्ञालाई खुकुलो बनाएको उनले जानकारी दिए । खुकुलो निषेधाज्ञाका कारण संक्रमण बढेपछि प्रहरी इकाइहरुसँग समन्वय गरेर अनुगमनलाई तिब्रता दिइएको प्रजिअ तिमिल्सिनाको भनाई छ । ‘हामीले अनुगमनलाई तिब्रता दिएका छौं ’ उनले भने ,‘ यसबाट पार लागेन भने निषेधाज्ञामा कडाई हुन्छ ।’
उनले काँकरभिट्टा नाकाबाट नेपाली नागरिकहरुलाई प्रक्रिया पु¥याएर आउन दिइरहेको बताए । काम बिशेषले भारत गएकाहरुलाई होल्डिङ सेन्टरमा राखेर एन्टीजेन टेष्टपछि मात्र घर जान दिने गरिएको छ ।‘पिसिआर रिपोर्ट भएकाहरुलाई हामी त्यतिकै जान दिन्छौं’ उनले भने , पिसिआर टेष्ट नगरेकाहरुलाई होल्डिङ सेन्टरमा राखेर मेची अस्पतालमा एन्टीजेन टेष्ट गरेपछि मात्र जान दिन्छौं ।’ खासगरी भारतीय सैनिकहरु काँकरभिट्टा नाकाबाट फिर्ने गरेका छन् । त्यस्तै कतिपय भारतीय नागरिकहरु पनि नेपाल आउने गरेका छन् । सिमावर्ती क्षेत्रका भारतीयहरुलाई नेपालका आफन्त बिरामी भएमा वा मरिमराउ भएमा आउन दिइएको प्रजिअ तिमिल्सिनाले जानकारी दिए ।
झापामा जति निषेधाज्ञा खुकुलो बनाइदैछ , त्यति धेरै नै कोरोना संक्रमित थपिदै गएका छन् । निषेधाज्ञा खुकुलो बनायताको तथ्यांकले कोरोना संक्रमण र मृत्यु दर बढेको देखाएको हो । असार १४ गतेयता जिल्ला प्रशासन कार्यालयले पसल, बजार र यातायात संचालनमा अनुमति दिएसँगै मानिसको भीडभाड बढ्न गई संक्रमण र मृत्यु दर फेरि अनियन्त्रित बन्न थालेको छ । असार १४ देखि २६ गतेसम्मको तथ्याँकलाई जोड्ने हो भने झापामा कोरोना संक्रमणबाट १३ दिनमा ३० जनाको मृत्यु भइसकेको छ । त्यस्तै १ हजार ९५९ जना संक्रमित थपिएका छन् । प्रत्येक दिनको आँकडालाई हेर्ने हो भने संक्रमितको प्रत्येक दिन मृत्यु हुने गरेको छ भने संक्रमित दर तेहोरो सँख्यामा रहेको छ । असार १४ गते २ मृत्यु १८६ संक्रमित , १५ गते ३ मृत्यु १४९ संक्रमित , १६ गते ५ मृत्यु १७७ संक्रमित ,१७ गते १७८ संक्रमित ,१८ गते १ मृत्यु ११८ संक्रमित ,१९ गते १ मृत्यु ५१ संक्रमित , २० गते २ मृत्यु १३२ संक्रमित ,२१ गते २ मृत्यु २२९ संक्रमित ,२२ गते ३ मृत्यु ११७ संक्रमित , २३ गते ४ मृत्यु २५५ संक्रमित र असार २४ गते ३ मृत्यु १३२ जना संक्रमित भएका छन् । त्यस्तै असार २५ गते ३ मृत्यु १७८ संक्रमित र असार २६ गते एक मृत्यु ५७ संक्रमित थपिएका छन् ।
यसरी हेर्दा निषेधाज्ञा खुकुलो पारेसँगै संक्रमण र मृत्यु दर बढ्न थालेको हो । कोरोना संक्रमणबाट झापामा ३७५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै १७ हजार ५७७ जना संक्रमित भएका छन् । त्यसमध्ये हाल २ हजार २३८ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संक्रमितमध्ये १३ हजार ४५ जना निको भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । देशको बढी कोरोना संक्रमित नौ जिल्लामा झापा पनि परेको छ । पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लालाई सरकारले संवेदनशील मानेको छ । जब कि झापामा सक्रिय संक्रमितको सँख्या हाल २ हजार २३८ रहेको छ । त्यस्तै उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका साथै चितवन, रसुवा, कास्की, सुनसरी, मोरङ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन् ।